लेनिन स्मृति शतवार्षिकी अभियान घोषणा, एक वर्षसम्म विभिन्न कार्यक्रम हुने

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

लेनिन स्मृति शतवार्षिकी अभियान घोषणा गरिएको छ । लेनिन स्मृति शतवार्षिकीका अवसरमा एक वर्षसम्म विभिन्न कार्यक्रम हुने भएको छ । 

लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर क्षेत्रगत र विषयगत कार्यक्रमबारे जानकारी दिएको हो ।

क्षेत्रगत रूपमा कोशी प्रदेशका विराटनगर, धरान र भापा, मधेसको जनकपुर, बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर र चितवन, गण्डकी प्रदेशका पोखरा, बाग्लुङ र कुस्मा, लुम्बिनी प्रदेशका दाङ, बुटवल र नेपालगन्ज, कर्णालीको सुर्खेत तथा धनगढी र कञ्चनपुरमा कार्यक्रम आयोजना गरिएको छ । 

समितिका संयोजक निनु चापागाईंले कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लेनिनले पुर्याएको सैद्धान्तिक र सांगठनिक योगदानको स्मरण गरिने बताए ।

‘शोषणवादी पुँजीवादी व्यवस्थाविरुद्ध लेनिन कसरी लडे र आज कसरी लड्न सक्छौँ, समाजवादी क्रान्तिमा लेनिनका योगदान के–के हुन्, लेनिनका जीवनकालमा सुरु भएका प्रथम समाजवादी प्रयोगका ऐतिहासिक उपलब्धि के–के थिए, समाजवादी क्रान्ति र व्यवस्थामा के–कस्ता वस्तुगत सीमा थिए, समाजवादी प्रयोगले के–कस्ता गल्ती र असफलता व्यहोर्यो, लेनिनका जीवन र विचारका महत्वपूर्ण शिक्षा के–के हुन् भन्ने विषयमा मुख्यतः विचार विमर्श हुनेछ,’ उनले भने ।

शतवार्षिकीका क्रममा विचार विमर्श, गोष्ठी, अन्तर्क्रिया, सांस्कृतिक उत्सव, कलात्मक प्रदर्शनी, प्रकाशनलगायत कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । 

सर्वहारा तथा श्रमजीवी वर्ग, उत्पीडित समुदाय, क्रान्तिकारी बौद्धिक–संस्कृतिकर्मी र समाजवादी राजनीतिकर्मीलाई अभियानमा सहभागी हुन, सहकार्य गर्न र सहयोग गर्न समितिले अपिल गरेको छ । श्रमजीवीको पक्षमा लेनिन सदा जीवित रहेको चापागाईंको दाबी छ । 

‘लेनिनको नेतृत्वमा स्थापित समाजवादी व्यवस्थाले सबै किसिमका आर्थिक, राजनीतिक र सांस्कृतिक असमानताको अन्त्य गर्ने उन्नत थिति बसाएको थियो । सबैलाई रोजगारी दिने परिपाटी बनाएको थियो । राष्ट्रियताको मुद्दा र जातीय विभेदको हल गरेको थियो । महिला र पुरुषबीचको असमानता अन्त्य गर्ने कदम चालेको थियो । शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाएको थियो । र, गरिखाने वर्गलाई सस्तो दरमा अत्यावश्यक वस्तु उपलब्ध गराएको थियो,’ उनले भने । 

२१ जनवरी १९२४ मा लेनिनको निधन भएको थियो । ‘लेनिनले गरिखाने वर्गको आन्दोलन र संगठनका लागि क्रान्तिकारी सिद्धान्त प्रतिपादन गरे, जसले क्रान्तिकारी सिद्धान्तमा आधारित नयाँ ढंगको पार्टी निर्माणको नेतृत्व गरे र विशिष्ट ऐतिहासिक परिस्थितिमा नीति अंगीकार गरी समाजवादी क्रान्तिको अगुवाइ गरे,’ समितिले भनेको छ, ‘संसारभरिका सर्वहारा–श्रमजीवी वर्गले लेनिनलाई भौतिक रूपमा बिदाइ गरेको आज ठीक सय वर्ष पुगेको छ । यो वर्ष लेनिन सम्झानाको शताब्दी वर्ष हो ।’

यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाली समाजका सन्दर्भमा लेनिनवाद विषयक अन्तर्क्रिया कार्यक्रममा हरि रोकाले नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्यबारे कार्यपत्र प्रस्तुत गरेका छन् । उनले सन् २००८÷०९ को विश्वव्यापी मन्दीपछि माक्र्सलाई खोजिएजस्तै लेनिनको खोजी गर्नेको जमात बढिरहेको बताए । 

मार्क्सवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ विधि र प्रक्रिया तयार पारेर लेनिन अगाडि बढेको उनले बताए । 

‘उनले मार्क्सवादको कपी–पेस्ट गरेनन्, माक्र्सवादी सिद्धान्त र त्यसले बोकेको स्पिरिटबमोजिम त्यसको उन्नति र प्रगतिमा आफूलाई होमे । वास्तवमा राज्य र क्रान्ति, के गर्ने, साम्राज्यवाद पुँजीवादको उच्च अवस्थाजस्ता कीर्ति त्यही स्पिरिटका उपज थिए । उनले आफ्नो जीवन नै क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए ।’ उनले क्रान्ति गर्ने वा खोज्ने काम रहुन्जेल लेनिनवादको औचित्य सधैँ बाँकी रहने औँल्याएका छन् । 

कार्यपत्रमाथि माओवादी उपाध्यक्ष पम्फा भुसाल, एमाले केन्द्रीय सदस्य टंक कार्की, युवा विश्लेषक संगीत स्रोताले टिप्पणी गरेका थिए । भुसालले लेनिनको अध्ययन र आत्मसात् गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । 

‘लेनिनको सन्देश सर्वहारा वर्गको नेतृत्वमा किसान र मजदुरको साथमा बलियो शक्ति निर्माण गर्न सकिन्छ । राज्यसत्ता वर्गीय हुन्छ । सत्ताले विरोधी वर्गलाई दमन गर्छ भने नै हो,’ उनले भनिन् । 

कार्कीले लेनिन विख्यात राजनीतिज्ञ र सच्चा माक्र्सवादी भएको बताए । स्रोताले लेनिनवादप्रति युवा पुस्तालाई जानकारी गराउन आवश्यक रहेकोमा जोड दिए ।

सुझावित समाचार