गुल्मीमा धमाधम एमाले जनवर्गीय संगठनका अधिवेशन हुँदै

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

कार्यकर्ता प्रशिक्षणमा केन्द्रित गुल्मी एमालेले धमाधम जनवर्गीय संगठनका अधिवेशन आह्वान गरेको छ। पछिल्लो समय नेकपा एमाले गुल्मी चलायमान देखिएको छ। संगठन निर्माण, प्रशिक्षण र जनजीविकाका विषयमा सरकार र निकायहरूको ध्यानाकर्षणमा एमालेले जोड दिएको छ।

एमाले गुल्मीले माघ र फागुनमा तीन संगठनको अधिवेशन गर्ने कार्ययोजना बनाएको छ। कार्ययोजनाअनुसार अखिल नेपाल महिला संघ जिल्ला कमिटीको ११औँ अधिवेशन २६ र २७ माघमा आह्वान गरिएको छ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजनासहित विभिन्न उपसमिति गठन गरेको प्रचारप्रसार उपसमिति संयोजक सावित्रा खड्काले जानकारी दिइन्। अधिवेशनका लागि १५ माघसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। २० माघमा १२ वटै पालिका र वडामा प्रतिनिधि छनाेट हुने बताइएको छ।

त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल गुल्मीको १०औँ जिल्ला अधिवेशन आगामी ५ फागुनमा तम्घासमा हुने भएको छ। पार्टी जिल्ला कार्यालयमा बसेको युवा संघ गुल्मीको पदाधिकारी बैठकले अधिवेशनको मिति तय गरेको हो।

९ माघमा पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको बैठक बसेर अधिवेशनका लागि प्रतिवेदन लेखन, प्रतिनिधि व्यवस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल व्यवस्थापन, सांस्कृतिक र अतिथि सत्कार उपसमिति गठन गर्ने अध्यक्ष सुरेश भण्डारीले जानकारी दिए। 

अनेरास्ववियु गुल्मीको पनि अधिवेशन हुँदै छ। अधिवेशन आयोजना गर्न उदय अर्यालको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी विस्तार गरिएको बताइएको छ।

प्रदेशभरका लोकतान्त्रिक आदिवासी जनजातिहरू भेला हुँदै
गुल्मीमा लुम्बिनी प्रदेशभरका लोकतान्त्रिक आदिवासी जनजातिहरू भेला हुने भएका छन्। जसका लागि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी २६ र २७ फागुनमा गुल्मी तम्घासमा हुने भएको छ।

मदन–आश्रित स्मृति भवन एमाले पार्टी कार्यालयमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशनको उद्घाटन गर्न नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष रामबहादुर थापा आउने कार्यक्रम रहेको छ। अधिवेशनका लागि आठवटा उपसमिति गठन गरिएको छ।

सुझावित समाचार