प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन्।
युगान्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको बताएका हुन्।
‘सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ। नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीको भुमरीमा परेको छ,’ प्रधानमन्त्री दाहालले भने।
असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषयलाई आफूले सम्मेलनका क्रममा जोडदार रूपमा उठाएको प्रधानमन्त्रीको भनाइ छ।