छोटो समयको अभ्यासकै भरमा शरीरलाई सन्तुलित राख्न सकिने व्यायाम हो, ‘ब्याटल रोप’ । यो डोरीको सहायताले गरिने अभ्यास हो । यसलाई हाई इन्टेसिटी ट्रेनिङको श्रेणीमा राखिएको छ, किनकि यो अभ्यास गर्नाले प्रतिमिनेट १० क्यालोरीसम्म बर्न गर्न सकिन्छ । ३० देखि ५० फिट लामो र १.५ देखि २ इन्च चौडा डोरीको सहायताले यो व्यायाम गर्न सकिन्छ । ब्याटल रोपका लागि आवश्यक उपकरण बजारमा किन्न पाइन्छ वा व्यायाम प्रशिक्षक अथवा विज्ञसँग सल्लाह गरेर तपाईंले घरमै पनि यस्तो उपकरण बनाउन सक्नुहुन्छ ।
डोरीलाई अड्काउने, दुवै हातले त्यसलाई समात्ने र चलाउने गर्नुपर्छ । व्यायामको समय अगाडि फर्किएर हल्का झुक्नुहोस् । तर, पछाडि फर्किएर झुक्नुहुँदैन । कुर्कुच्चामा भार नपर्ने गरी घुँडालाई मोड्नुपर्छ । तपाईंले २० देखि ४० सेकेन्डसम्म व्यायाम गरेपछि २० देखि अधिकतम ६० सेकेन्डसम्म आराम गर्न सक्नुहुन्छ । यसरी कसरत गर्दै र आराम गर्दै १० देखि ३० मिनेटसम्म अभ्यास गर्दा राम्रो हुन्छ । ब्याटल रोपका भिडियो युट्युब वा सामाजिक सञ्जालमार्फत हेर्न सकिन्छ । थप जानकारीका लागि यस्तो अभ्यास गरिरहेका व्यक्ति वा विज्ञसँग परामर्श लिन सक्नुहुन्छ ।
फाइदा
- यस व्यायाममा मांसपेशी अलग–अलग तरिकाले सक्रिय हुन्छन् । त्यसैले फ्याट बर्नसँगै मांसपेशी पनि बलियो हुन्छ । काँध वा बाइसेप्सको आसपास फ्याट घटाउँदै शरीरका हिस्सालाई फिट बनाउँछ ।
- यसले घुँडा तथा जोर्नीको दुखाइ कम गर्छ । ३० देखि ५० फिट लामो र १.५ वा २ इन्च चौडा डोरीको सहायताले गरिने यस अभ्यासले मानिसको हृदयको क्षमतालाई पनि बढाउँछ ।
- भारत्तोलन वा ट्रेडमिलका लागि जिमखाना जानुपर्ने वा घरमै आवश्यक सामग्री जोहो गनुपर्ने हुन्छ । बाहिर जानुपर्दा यस्तो अभ्यास छुट्ने सम्भावना धेरै हुन्छ । तर, ब्याटल रोप जहाँ पनि गर्न सकिन्छ ।