ताेकिएको कामै नगरी १८ लाख हिनामिना

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

सप्तरीको राजविराज नगरपालिकामा कामै नगरी लाखौँ रकम हिनामिना गरेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गतको धानवाली पकेट कार्यक्रममा तोकिएको कामै नगरी १८ लाख रुपैयाँ हिनामिना गरिएको तथ्य खुलेको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले बजरंगी कृषि सहकारी संस्थालाई आर्थिक वर्ष ०७७/७८ मा १२ लाख रुपैयाँ र आव ०७८/७९ मा ६ लाख गरी १८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कार्यक्रमअन्तर्गत सहकारी संस्था छनोट गरी उक्त संस्थाले कृषक समूह निर्माण गरी एकै स्थानमा जग्गा एकीकृत गर्दै बिउविजन, बोरिङ, मल, विषादीलगायतका सामग्री वितरण गर्नुपर्ने हो । तर, पकेट कार्यक्रममा तोकिएको कामै नगरी १८ लाख रुपैयाँ हिनामिना गरिएको पाइएको छ ।

राजविराज नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले चार वर्षसम्म साधारणसभा नै नभएको संस्थालाई कानुनविपरीत छनोट गरी उक्त कार्यक्रमका लागि बजेट दिएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि बजेट उपलब्ध गराइएको बजरंगी सहकारीका अध्यक्ष देवकुमार यादव भोगेन्द्र यादवकी बहिनीज्वाइँ हुन् भने कोषाध्यक्ष रेखाकुमारी यादव भोगेन्द्रका श्रीमती हुन् ।

भोगेन्द्रले आफ्नी श्रीमती सहकारीमा कोषाध्यक्ष भएको विषयमा आफू जानकार नरहेको दाबी गरे । ‘नगरपालिकाको कृषि शाखाले नै संस्था छनोट गरी बजेट दिएकाले यसमा मेरो कुनै संलग्नता छैन,’ उनले भने । सहकारीका अध्यक्ष देवकुमारले भने तोकिएअनुसार काम गरेको बताए ।

एकै परिवारका व्यक्ति भुक्तानी दिने र लिने संस्थाका अध्यक्ष र कोषाध्यक्ष भएको संस्थालाई कानुनविपरीत सरकारी बजेट दिइएको र कामै नगरी रकम भुक्तानी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । १ माघमा अख्तियारले १५ दिनको समय दिएर कागजातसहित जानकारी उपलब्ध गराउन नगरपालिकामा पत्राचार गरेको छ । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङले यसबारे अख्तियारबाट पत्र आएको तथा अघिल्लो आर्थिक वर्षका कार्यक्रम रहेकाले फाइल खोजी गरी बुझ्ने कार्य भइरहेको बताए ।
 

सुझावित समाचार