कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु भएको छ। प्रदेश सरकारले शुक्रबारदेखि मोरङ र झापाबाट अभियान सुरु गरेको हो।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले दक्षिणी सीमा क्षेत्रमा पर्ने विराटनगरस्थित रानी र उत्तरमा विराटनगर–इटहरी सडक खण्डमा पर्ने नेमुवामा अभियानको उद्घाटन गरे।
अभियानका क्रममा कोशी प्रदेशभरिका सवारीचालकहरूको लागुऔषध तथा मादकपदार्थ सेवनका साथै आँखा जाँच गरिनेछ। विनाकारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाइरहेको र घाइतेको तथ्यांक पनि बढिरहेकाले सरकारले गम्भीर भएर यो अभियान सुरु गरेको मुख्यमन्त्री कार्कीले बतााए।
उनले लागुपदार्थ तथा मादकपदार्थ सेवन गरे–नगरेको चेकजाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिएका छन्। मुख्यमन्त्री कार्कीले भने, ‘लापसे,मापसे गरेर सवारी चलाउँदा दुर्घटना मात्रै नभई स्वास्थ्यमा समेत गम्भीर समस्या उत्पन्न हुन्छ। यसैले सेवन रोक्नुको विकल्प छैन।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटना हुने गरेको तथ्यांक छ। जसमा सरदर एकजनाले ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते तथा १० जना सामान्य घाइते हुने गरेका छन्।