४० को दशकतिर विराटजंग शाही राष्ट्रिय फुटबल टोलीका प्रमुख खेलाडी थिए । पञ्चायतकालमा नेपालले जति पनि अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको थियो, त्यसमा उनी कहिल्यै पनि छुटेनन् । आफ्नो समयकै उत्कृष्ट खेलाडी शाही अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष छन् । उनको समयमा राम्रा खेलाडीलाई जनकपुर चुरोट कारखाना वा शाही नेपाली वायुसेवा निगमले राम्रो तलबमा भित्र्याउँथ्यो । शाहीले जनकपुर चुरोट कारखानाबाट घरेलु फुटबल खेले ।
त्यस समयमा गज्जबको नियम थियो । घरेलु फुटबलमा जसले बढी उपाधि जित्थ्यो, त्यही टोली नै अन्तर्राष्ट्रिय फुटबलमा भाग लिन जान्थ्यो । ०४७ सालमा जनकपुर चुरोट कारखानाले भारतको उत्तर प्रदेशमा आयोजना भएको प्रतियोगितामा भाग लिएको थियो । नेपाली टोली सेमिफाइनलबाट बाहिरियो । घर फर्कने तयारी गरेको नेपाली टोलीले आयोजककै कारण फाइनल खेल्यो । नेपाल बाहिरिँदा उपाधि भिडन्तमा दर्शक नआउने भएपछि आयोजकले नेपाललाई दुई गोल उपहार दिएको थियो । यही अचम्मलाग्दो घटना शाहीले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए :
जनकपुरमा दुई साताको अभ्यास
हामीले खेलेको समयमा असाध्यै राम्रा खेलाडीलाई सरकारको स्वामित्वमा रहेको सरकारी संस्थामा जागिर दिने व्यवस्था थियो । धेरै राम्रा खेलाडी सरकारी संस्थानका जागिरे बने । यसमध्ये म पनि एक हुँ । मेरो खेल–कौशल हेरेर जनकपुर चुरोट कारखानाले मलाई अनुबन्ध गरेको थियो । जागिर निकै रमाइलो थियो । जागिरसँगै खेलमा समेत राम्रो प्रदर्शन गर्नुपर्ने जिम्मेवारी थियो । त्यो समयमा जनकपुर चुरोट कारखानाको टोलीलाई संक्षिप्तमा ‘जचुकाली’ भनिन्थ्यो ।
यस संस्थानले तत्कालीन समयमा धेरै राम्रा खेलाडीलाई लोभलाग्दो सुविधासँगै अनुबन्ध गरेको थियो । मलाई सम्झना भएसम्म जचुकालीमा लगभग राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी मात्रै हुन्थे । त्यो समयमा मसहित आधा दर्जनभदा बढी राष्ट्रिय टोलीका खेलाडी जचुकालीमा अनुबन्ध भएका थियौँ । गणेश पाण्डे, अनिल रूपाखेती, राजेश थापा, ललित थापा, सुरेश बस्नेत, पुनम थापा, स्व. रामराज सिंह (कप्तान), देवेन्द्रमान सिंह बस्नेत, जीवन लामा, ऋतु शाक्य, बिरु राई, मदन नेवा यस टोलीमा आबद्ध थिए । सामान्य गरी कुनै प्रतियोगितामा सहभागी हुन जाँदा हामीले अनिवार्य रूपमै दुईदेखि तीन साता बन्द प्रशिक्षण गथ्र्यौँ ।
प्रशिक्षण काठमाडौंमा हुँदैनथ्यो । संस्थानले सीधै जनकपुरमा लगेर खेलाडीलाई प्रशिक्षण दिन्थ्यो । त्यो समयको फुटबलमा अलि फरक नियम थियो । घरेलु फुटबल प्रतियोगितामा जसले धेरै उपाधि जित्छ, त्यही टोलीले नै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने अवसर पाउँथ्यो । यस्तोमा जचुकालीलाई भाग्यमानी नै भन्नुपथ्र्यो । लगभग भएभरका राष्ट्रिय खेलाडीले भरिपूर्ण टोली । अनि के चाहियो, घरेलु फुटबलका धेरैजसो उपाधि हामीले नै जित्थ्यौँ । पूर्वदेखि पश्चिमसम्म हुने सबैखाले प्रतियोगितामा जचुकालीकै दबदबा हुन्थ्यो । हाम्रो समयमा अरूले खासै मौका पाउँदैनथे ।
हाम्रा व्यवस्थापकले आयोजकसमक्ष प्रश्न राखे । सेमिफाइनलमा पराजित हामी कसरी फाइनलमा पुग्यौँ ?आयोजकले भन्यो, ‘हमारे तरफ से नेपालको एक के बदला दो गोल दिया । कल हम फाइनलमे मिलेंगे ।’
हामीले मलेसिया, माल्दिभ्स र भारतलगायत अन्य देशमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्यौँ । भारतमा आयोजना हुने प्रतिष्ठितमध्ये एक सिक्किम गभर्नर गोल्डकप कैयौँपटक खेल्यौँ । यस सिजनमा हामीले धेरै घरेलु उपाधि जितेका कारण भारतमा एउटा प्रतियोगितामा सहभागी हुने अवसर पाएका थियौँ ।
दुई साताको अभ्यासपछि जनकपुरदेखि हामी बसबाट नेपालको सिमानासम्म पुग्यौँ । त्यहाँबाट रेलमार्ग हुँदै रामनगर गयौँ । वास्तवमा भारतको रेलयात्रा निकै रमाइलो हुन्थ्यो । मलाई सम्झना भएसम्म रामनगर पुग्न १२ देखि १४ घण्टा लागेको थियो । आयोजकले नेपाली टोली आएको थाहा पाएपछि भव्य स्वागत गरेको थियो । नेपाली समुदाय र नेपाली टोलीलाई मन पराउनेहरू होटेलबाहिर र भित्र हुन्थे । जसले गर्दा हामीलाई धेरै हौसला बढेको थियो ।
दुई खेलपछि सेमिफाइनलमा
त्यसवेला भारतमा आयोजना हुने अघिकांश फुटबल प्रतियोगिता नकआउट पद्धतिमा आयोजना हुन्थे । हामीले पहिलो खेल प्रिक्वार्टरफाइनल खेल्नुपर्ने भयो । पटनाको होमघाटस्थित स्थानीय पुलिससँग खेल थियो । त्यस मैदानमा नेपाली टोलीलाई समर्थन गर्न औसतमा पाँच–सात हजार समर्थक आउँथे । त्यो वातावरणमा खेल्न छुट्टै मज्जा थियो । सात हजारको संख्यामा समर्थन पाउँदा हामी जोसिन्थ्यौँ र खेललाई निकै सहज रूपमा लिने गथ्र्यौँ । हामीले घरेलु टोलीमाथि बल पोसेसन राम्रो बनाएका थियौँ । त्यो समयमा जचुकालीको खेल्ने शैली फरक थियो । बल पोसेसन बनाएर विपक्षी पोस्टमा खतरनाक आक्रमण गर्ने योजना बनेको हुन्थ्यो । नेपाली खेलाडीको यस शैलीलाई भारतीय खेलाडीसँगै समर्थकले औधी मन पराएका थिए । प्रिक्वार्टरफाइनमा सहज जितपछि सेमिफाइनलमा पुग्यौँ ।
पहिलो खेलमा सानदार जितपछि नेपाली समर्थकले हामीलाई धेरै माया दिए । यसपटक हामी नेपाली खेलाडीमाथिको समर्थन यस्तो बढेको थियो कि आयोजकलाई क्वार्टरफाइनलमा नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो । यसपटक पनि सेमिफाइनल प्रवेशका लागि भएको खेलमा पनि स्थानीय एक क्लबलाई सहजै हरायौँ । अब, पालो सेमिफाइनलको थियो ।
सबैले अनुमान गरेझैँ सेमिफाइनलमा स्थानीय टोलीलाई भन्दा नेपालबाट आएको टोलीलाई धेरै समर्थन हुन्छ । फाइनल प्रवेशका लागि भएको खेलमा हाम्रो प्रतिद्वन्द्वी उत्तर प्रदेशको मुस्लिम टोली थियो । हामीले उनीहरूविरुद्ध नराम्रो खेलेका थिएनौँ । तर, राम्रो खेल्दाखेल्दै हामीले एउटा मात्र नसोचेको गोल व्यहोरेका थियौँ ।
यसै एक गोलमा उत्तर प्रदेशको मुस्लिमले नेपाली टोलीलाई १–० ले हरायो । यस नतिजासँगै हामी निराश हुँदै मैदानबाट बाहिरियौँ । आयोजक र त्यहाँका समर्थकले हामीलाई नै उपाधिको एक मात्र दाबेदार टोलीका रूपमा लिएका थिए । फेरि नेपालको टोलीले जुन किसिमको प्रदर्शन गरेको थियो, त्यसअनुसार हामी वास्तवमै फाइनलमा पुग्नुपर्ने टोली थियो । तर, एक गोलले सबै सपना भुताभुंग भयो ।
हारे पनि फाइनलमा पुग्यौँ
हामी निराश हुँदै होटेल पुगेका थियौँ । एक–अर्कासँग कोही पनि बोलेका थिएनन् । सबै खाना खाएर सुत्यौँ । सबै खेलाडीले भोलिपल्ट नेपाल प्रस्थान गर्न झोला मिलाइसकेका थिए । उपाधि भिडन्तका दुई टोली तयार थिए । नेपाल फर्कन हामीले होटेलमा छिट्टै ‘चेकआउट’ गर्ने योजना बनायौँ । तर, एकाबिहानै हामीलाई भेट्न आयोजकका केही पदाधिकारी आए । उनीहरूले टिम व्यवस्थापकसहित खेलाडीलाई बैठकमा डाके । मिटिङमा भएका कुरा बताउँदा अहिले पनि मजाकजस्तो लाग्छ । आयोजकले हामीलाई भन्यो, ‘नेपाली टोली फाइनल पुगिसकेको छ, किन घर फर्कने । फाइनल खेलेर मात्र जाने हो ।’
यो सुन्दा हामीले नेपाली खेलाडी र अफिसियल एक–अर्काका मुख हेराहेर गर्यौँ । हुँदै नभएको र हुन नसक्ने कुरा सुन्नुपरेको थियो । कतै हुन्छ र ? हारेको टोली पनि फाइनलमा पुग्छ र ! तर, यस्तै भयो । त्यसवेला हामीले सोच्यौँ, सम्भवतः नेपालबाहेक अन्य सेमिफाइनलमा पुगेको टोलीविरुद्ध कसैले प्रोटेस्ट हालेको हुनुपर्छ । हाम्रा व्यवस्थापकले आयोजकसमक्ष प्रश्न राखे । सेमिफाइनलमा पराजित हामी कसरी फाइनलमा पुग्यौँ ? आयोजकले भन्यो, ‘आयोजकके तरफ नेपालको एक के बदला दो गोल दिया । कल हम फाइनलमे मिलेंगे ।’ यो सुन्दा हामी अक्क न बक्क भयौँ ।
यो कसरी हुन्छ ? मनमा अर्को प्रश्न उत्पन्न भयो । आयोजकका पदाधिकारीले भने, ‘तिमीहरू ढुक्क भएर बस । भोलि फाइनल जसरी पनि खेल्नुपर्छ । अब कुरा यति नै हो । फाइनलको तयारीमा लाग्नु।’ यति भनेर उनीहरू होटेलबाट बाहिरिए ।’ त्यो क्षणमा कसैले पनि केही बोल्न नै सकेनन् । लगभग हामी नेपाल फर्कने तयारीमा थियौँ ।
वास्तवमा के भएको रहेछ भने नेपाली टोली फाइनलमा पुग्छ भनी यस दिनको टिकट फुल हाउस भइसकेको थियो । टिकट यति सेल भयो कि रंगशालामा बस्ने स्थान नै थिएन । अनि नेपाल सेमिफाइनलमा पराजित भएपछि बबाल मच्चिएको रहेछ । दर्शकले फाइनलमा नेपाल हुनुपर्ने दबाब दिइएको रहेछ । फाइनलमा दर्शक नहुने भएपछि आयोजकले रातारात नियम बनाएर हामीलाई थप दुई गोल उपहार दिएर फाइनलमा स्थान दिएको रहेछ । यस्तो रणनीतिमा आयोजक मालामाल हुने थियो । फाइनलमा नेपाल हुँदा दर्शक भरिने पक्का भयो । फेरि आयोजकले हामीलाई हराएको टोलीलाई गज्जबले फकाएको थियो । उनीहरूले नेपाललाई फाइनल पुर्याउँदा केही प्रतिकार गरेनन् ।
फाइनल ३–० ले जित्यौँ
अब फाइनल खेल्ने पक्का भयो । त्यसपछि हतारमा प्याकिङ गरेका सबै झोला खोल्यौँ । अनि अभ्यास गर्नतिर लाग्यौँ । सबै खेलाडीको मनोबल उच्च थियो । बिहान खाना खाएर केही समय विश्राम गर्यौँ । आयोजकको टोली हामीलाई लिन होटेलमै आयो । मैदान पुग्दा दर्शकको संख्या हेर्न नसकिने थियो । रंगशालामा ८–९ हजार दर्शक उभिएरै खेल हेर्न तयार अवस्थामा थिए । एक किसिमले आयोजकको योजना पनि सफल भयो । पूरै दर्शकले नेपाली टोलीलाई साथ दिएको थियो । हजारौँ समर्थकले समर्थन गरिरहँदा हामीलाई मज्जा र खुसी लाग्यो । त्यो फाइनल हामीले ३–० ले जित्यौँ । फाइनलमा रामराज सिंह, गणेश पाण्डे र अनिल रूपाखेतीले गोल गरेका थिए । तीनै खेलाडी त्यस समयमा नेपालका उत्कृष्ट खेलाडी थिए ।
सुनको सिल्ड ल्याउन पाइएन
अर्को रोचक पक्ष के छ भने प्रतियोगिताको सिल्ड नै एक किलो सुनको थियो । हामीले भारतमा उपाधि जितेको खबर नेपालमा पुगिसकेको थियो । उपाधिसँगै जनकपुरमा हामीलाई भव्य स्वागतको योजना बनेको थियो । हर्षित हुँदै हामी स्वदेश फर्कियौँ । तर, नेपाल र भारतको बोर्डरमा आयोजकले नै जितेको एक किलो सुनसहितको सिल्ड नदिने भन्यो । त्यहाँ सबै खेलाडी वाल्ल भयौँ । जितको सिल्ड पनि नदिने ? केही बेर वादविवाद भयो । तर, केही नलागेपछि ट्रफी त्यहीँ छाड्यौँ । सबैजना दुःखित थियौँ, आयोजकले सुनको सिल्ड आफैँले राख्यो ।
हामीलाई नक्कली सिल्ड दिइयो । हामीलाई त्यहाँको आर्मी कमान्डो टोलीले नै सीमासम्म बिदाइ गरेको थियो । नक्कली सिल्डसहित नेपाली टोली आएको थाहा पाउँदा जनकपुरमा हुने भनेको र्यारी नै स्थगित भयो । जनकपुरमा एक–एक किलोको सुनको ट्रफी देखाउन नै र्याली आयोजनाको बन्दोबस्त भएको रहेछ । यस सफलताले गर्दा संस्थाले हामी सबैको तलब र सुविधा बढाएको थियो ।