रौतहटमा स्यालको टोकाइबाट १२ जना घाइते

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

स्यालको टोकाइबाट रौतहटमा १२ जना घाइते भएका छन्। जिल्लाको गढीमाई नगरपालिका क्षेत्रमा स्यालको टोकाइबाट महिला तथा बालबालिकासहित १२ जना मानिस घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगन्ज रेफर गरिएको छ।

गढीमाई नगरपालिका– ७ का स्थानीय गोठालाहरू बिहीबार साँझ घाँस काट्न खेतमा गएको वेला उखुघारीबाट एक्कासि आएको स्यालले आक्रमण गरी महिला तथा बालबालिकासहित १२ जनालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

स्यालको टोकाइबाट गढीमाई– ७ का ७० वर्षीय महेन्द्र महतो, ४५ वर्षीया मन्तोरिया देवी, ६० वर्षीया तेतरी खातुन,  ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी  मनीषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखिया देवी, ३० वर्षकी बिना देवी, नाै वर्षका श्रावण कुमार, ७२ वर्षकी सिकिलावा देवी र ७० वर्षका जयल मुखिया घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

स्यालको आक्रमणबाट गढीमाईको धर्मपुर, धनहारी, लक्ष्मीपुर र मुसहरी टोलका महिला, पुरुष र बालबालिका घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी ६० वर्षीया तेतरी खातुनलाई राति नै एम्बुलेन्सबाट थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो।

खातुनको नाक र मुखमा गहिरो घाउ बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचारपछि नेसनल मेडिकल कलेज पठाइएको डिएसपी खनालले जानकारी दिए।

सुझावित समाचार