मनोनयन दर्ताको दिन नजिकिँदै गर्दा पनि उम्मेदवारले चुनावी एजेन्डा सार्वजनिक नगर्दा मतदाता अन्योलमा
टुर्गान (टुरिस्ट गाइड एसाेसिएसन अफ नेपाल)को ३०औँ वार्षिक साधारणसभा ११ माघमा काठमाडौंमा हुने भएकाे छ । साधारणसभाले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ । यसको लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा थानेश्वर देवकोटा र कुमार पुरी, महासचिवमा टंक दुवाडी र शंकर भट्टराईले उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै, सचिवमा माधवराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
निर्वाचनको मनोनयनअगावै उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्नुपर्ने लोकतान्त्रिक अभ्यास मानिदै आएको छ । तर, एकजना महासचिवका उम्मेदवारले बाहेक अन्यले एजेन्डा सार्वजनिक गरेका छैनन् । महासचिवका उम्मेदवार टंक दुवाडीले भने आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् ।
निर्वाचनको मनोनयन हुनुअगावै उम्मेदवारले आफ्नो चुनावी एजेन्डा तय गर्नुपर्नेमा महासचिवका एक उम्मेदवार र अध्यक्षका उम्मेदवारले आफ्ना कुनै एजेन्डा प्रस्तुत नगरेको एक सदस्यले बताए ।
एजेन्डाको आधारमा मतदाताले उम्मेदवारलाई मतदान गर्ने भएकाले उम्मेदवारले आफ्नो एजेन्डा अनिवार्य रूपमा प्रस्तुत गर्न सदस्यहरूले माग गरेका छन् । यस साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।