पञ्चपुरी नगरपालिका– ६ कुवापानीमा १८ वर्षीय छोराकाे हत्या आरोपमा ४५ वर्षीय बाबु पक्राउ परेका छन् । कैलाली टीकापुर नगरपालिका– १ लम्कीपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी बिहीबार बिहान १० बजे लम्कीपुरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेको छ । उनले २ माघमा छोराको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ । बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण बाबुले छाेराकाे हत्या गरेकाे हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।