विशेषमा फटाफट फैसला

आर्थिक वर्ष ०७९/८० को १२ महिनामा २७० मुद्दा मात्र फैसला भएकामा न्यायाधीशको नयाँ टिमको प्रवेशसँगै पछिल्लो डेढ महिनामै ७८ मुद्दा टुंग्याइए, सम्पत्ति शुद्धीकरणका पाँचवटै मुद्दा ठहर

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

फैसला भएका चर्चित मुद्दा

- मदन पुरस्कार विजेता पूर्वडिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा दोषी ठहर : प्रहरी कर्मचारीको नाममा तलबसहित सेवा–सुविधाको ३३ लाख हिनामिना

- सम्पत्ति शुद्धीकरणमा हालसम्मकै सबैभन्दा बढी बिगो र जरिवाना : भारतीय नागरिकद्वय प्रमोदकुमार जयसवाललाई आठ वर्ष कैद, ४१ करोड ५१ लाख बिगो र यसको दोब्बर जरिवाना तथा पप्पु ठाकुरलाई पाँच वर्ष कैद, तीन करोड ६७ लाख बिगो र यसको दोब्बर जरिवाना

- ४८ वर्षदेखि लागुऔषध कारोबारमा संलग्न देवेन्द्रविक्रम छपालीले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि : दुई वर्ष कैद सजाय, साढे ७४ लाख बिगो र बिगोको दोब्बर जरिवाना 

- अमेरिकामा ठगी गरी पैसा नेपाल पठाएका पंकज जोशी पनि दोषी ठहर : आफू काम गर्ने अमेरिकी स्टोरमा चिट्ठा परेको एक वृद्धको पैसा साटेर सन् २०१० मा १० लाख आठ हजार डलर पठाएका थिए नेपालको बैंकमा

- बम काण्डमा जोडिएका वृजकिशोर गिरी र समसुल होदाले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि : दुवैजनालाई जनही १२–१२ वर्ष कैद तथा २७ लाख २५ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला

वर्षौँदेखिका विचाराधीन मुद्दाको खात लाग्ने विशेष अदालतमा न्यायाधीशहरूको नयाँ टिमको प्रवेशसँगै फटाफट फैसला आउन थालेका छन् । न्यायपरिषद्ले न्यायाधीशको नयाँ टिम सरुवा गरेयता डेढ महिनामै विशेषले ७८ मुद्दाको फैसला गरेको हो । गत आर्थिक वर्षको १२ महिनामा २०७ मुद्दा मात्रै फर्स्योट भएका थिए । पछिल्लो डेढ महिनामा भएको मुद्दा फर्स्योट दर गत वर्षको यही समयावधिको तुलनामा तीन गुणाले बढी हो । 

न्यायपरिषद्ले ५ मंसिरमा विशेषको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई सरुवा गरेको थियो । राई उच्च अदालत राजविराज, रामबहादुर थापा धनकुटा, श्रेष्ठ पाटन र रितेन्द्र थापा विराटनगरमा कार्यरत थिए । सबै न्यायाधीशले १८ मंसिरदेखि मुद्दा हेर्न थालेका थिए । फैसला भएका ७८ मध्ये १८ मा ठहर, २६ मा आंशिक ठहर र ३४ मा सफाइको फैसला भएको छ । यस अवधिमा सम्पत्ति सुद्धिकरणसम्बन्धी पाँच मुद्दाको फैसला भएकामा सबैमा कसूर कायम भएको छ । 

न्यायाधीशको नयाँ टिमको प्रवेशसँगै एकै दिन लगाउमा रहेका २० वटासम्म मुद्दा फैसला भएका छन् । २२ पुसमा लगाउमा रहेका २० मुद्दा एकैपटक फैसला भएको हो । जसमध्ये १८ वटामा आंशिक ठहर र दुई वटामा सफाई हुने फैसला भएको थियो । पर्साका विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसियासमेत प्रतिवादी रहेको ०७६ असोजकै यो मुद्दा चार वर्षपछि फैसला भएको थियो ।

यसबाहेक सम्पत्ति शुद्धीकरणका पाँच र गैरकानुनी सम्पत्ति आर्जनका मुद्दाहरू समेत यस अवधिमा फैसला भएका छन् । सम्पत्ति शुद्धीकरणका पाँच मुद्दा यस अवधिमा फैसला भएकामा चारवटामा ठहर र एउटामा आंशिक ठहर भएको छ । हरेराम यादवसमेत तीनजना प्रतिवादी रहेको मुद्दामा आंशिक ठहर भएको हो भने बाँकी मुद्दा ठहर भएका छन् । सुकदेव ठाकुर ०७७ मा २० लाख दुई हजार रुपैयाँसहित पक्राउ परेका थिए । बयानका क्रममा उनले उक्त रकम हरेराम यादवको रहेको बताएका थिए । त्यसपछि यादव र ठाकुरका साथै सिराहाको श्रीराम मनी ट्रान्सफरलाई समेत प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । तर, सम्पत्ति शुद्धीकरणमा यादव र ठाकुर दोषी नदेखिएपछि बरामद रकम जफत गर्ने गरी आंशिक ठहरको फैसला विशेषले गरेको हो । २८ पुस ०७७ मा दायर मुद्दामाथि विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले २० मंसिर फैसला सुनाएको हो । 

त्यस्तै, नक्कली कम्पनी बनाई करोडौँको कारोबार गरेको एक मुद्दामा सम्पत्ति शुद्धीकरण पुष्टि भएको छ । प्रमोदकुमार जयसवाललगायतलाई प्रतिवादी बनाई दायर मुद्दामाथि विशेषले पुष्टि हुने ठहर गरेको हो । यसैगरी, लागुऔषध कारोबारी देवेन्द्रविक्रम छपालीसमेतको सम्पत्ति शुद्धीकरण मुद्दामा पनि कसुर कायमको फैसला भएको छ । 

पाकिस्तानी आतंकवादी समूहसँगको मिलेमतोमा भारतमा बम विस्फोट गराउने योजनामा संलग्न रहेका दुईजनाले पनि सम्पत्ति शुद्धीकरण गरेको ठहर भएको छ । पाँच वर्षअघि दायर बृजकिशोर गिरीसमेतको मुद्दामा २८ मंसिरमा फैसला आएको हो । त्यस्तै, अमेरिकामा ठगी गरी नेपाल फर्केको विषयमा पनि पंकज जोशीमाथि मुद्दा दायर भएको झन्डै तीन वर्षपछि विशेषले सजाय तोकेको छ । 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार बुधबारसम्म आर्थिक वर्ष ०७६/७७ सम्मका ५ थान मात्रै मुद्दा छन् । यसमध्ये हाइप्रोफाइल प्रतिवादीहरू रहेका ललितानिवास प्रकरणमा पनि माघ लागेसँगै सुनुवाई सुरु भएको छ । यसैगरी ०७७/०७८ का १९ मुद्दा रहेको अभिलेख छ । यसमध्ये ११ वटा मुद्दा लगाउका छन् । हाल विशेषमा कूल दुई सय ५७ मुद्दा विचाराधीन छन् । 

‘दुई वर्षभन्दा पुराना मुद्दालाई यस आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा झार्ने लक्ष्यअनुसार काम गरिरहेका छौँ । लगाउका मुद्दा धेरै हुँदा पनि संख्या बढी देखिएको हो । यी मुद्दा फर्स्योट भएमा पुराना मुद्दा संख्या घट्नेछ,’ उपरजिस्ट्रार कार्कीले भने । पुराना मुद्दालाई प्राथमिकतामा राख्दै विशेषले पेसी तोक्ने र सुनुवाइ गर्ने गरिरहेको उनको भनाइ छ । पुराना मुद्दाको सुनुवाइ के–कस्ता कारणले प्रभावित भएका छन् भनेर कारण पत्ता लगाई समाधान गर्दै सकभर छिटो टुंग्याउने गरी विशेषले काम गरिरहेको कार्कीले बताए । 

फैसला भएका चर्चित मुद्दा
मदन पुरस्कार विजेता शाह भ्रष्टाचारमा दोषी ठहर

चार वर्षअघिको मुद्दामा पूर्वडिआइजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह दोषी ठहर भएका छन् । ११ पुसमा विशेषले भ्रष्टाचार मुद्दामा उनीसहित प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरूलाई दोषी ठहर गर्दै तीन/तीन वर्ष कैद सजाय तोकेको छ । साथै दुवैले जनही १६ लाख ६९ हजार रुपैयाँभन्दा बढी जरिवाना समेत बुझाउनुपर्नेछ । 

सिन्धुलीस्थित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा प्रमुखका रूपमा कार्यरत रहँदा नयाँ भर्ना भएका र सरुवा भएका प्रहरीका नाममा समेत तलबसहितको सेवा–सुविधाको रकम निकालेर खाई मासेको भन्ने अभियोगमा शाह र पनेरू दोषी ठहर भएका हुन् । ०६३ मा छापामारको छोरो कथासंग्रहका लागि शाहले मदन पुरस्कार पाएका थिए । 

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २० फागुन ०७६ मा दायर मुद्दामाथि फैसला गरेको हो । कुल ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा शाहसमेत चारजनामाथि मुद्दा दायर भएकोमा दुईजनाउपर ठहर भएको हो । 

सम्पत्ति शुद्धीकरणमा हालसम्मकै सबैभन्दा बढी बिगो र जरिवाना
सम्पत्ति शुद्धीकरणका मुद्दा सजिलै ठहर हुँदैनन् । ऐनअनुसार सम्पत्ति शुद्धीकरणको परिभाषामा समेटिएको भनी कसुर पुष्टि गर्न सरकारी पक्षलाई मुस्किल पर्छ । तर, सम्पत्ति शुद्धीकरणको कसुर मात्र ठहर नभई विशेषले पछिल्लोपटक गरेको फैसलामा हालसम्मकै सबैभन्दा बढी बिगो ठहर भएको छ । 

नक्कली प्यानलगायत कागजात बनाई फर्जी कम्पनीका दर्ताको अभिलेख खडा गरी आलुप्याजसमेतका विविध वस्तु भारतबाट आयात गरेको अभियोगमा दुईजना दोषी ठहर भएका हुन् । ४ पुसमा विशेषका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाएको हो । यो मुद्दा पाँच जनाविरुद्ध दायर भएको थियो । 

विशेषका अनुसार भारतीय नागरिक प्रमोदकुमार जयसवाल र पप्पु ठाकुरलाई क्रमशः आठ र पाँच वर्ष कैद सजाय हुने भएको छ भने बिगोको दोब्बर जरिवाना हुने निर्णय सुनाइएको छ । जयसवाललाई ४१ करोड ५१ लाख बिगो भराउने तथा यसको दोब्बर जरिवाना हुने र ठाकुरलाई तीन करोड ६७ लाख रुपैयाँ बिगो र यसको दोब्बर जरिवाना हुने भएको छ । यो मुद्दा ०७७ वैशाखदेखि विशेषमा विचाराधीन थियो । तीन वर्षपछि फैसला गर्दै विशेषले सम्पत्ति शुद्धीकरणको अभियोग ठहर गरेको हो । 

४८ वर्षदेखि लागुऔषध कारोबारमा संलग्न छपालीले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि
विशेष अदालतले १६ पुसमा देवेन्द्रविक्रम छपालीसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर ग¥यो । यो मुद्दामा छपालीका साथै चन्द्रा रोका, गोविन्दकुमार रोका छन्त्याल, नागेन्द्र थापामगर, मनजित घर्तीमगर, इन्द्रबहादुर थिङ र जम्बा भोटे पनि प्रतिवादी थिए । तर छपाली मात्र दोषी ठहर भएका छन् । यसमा २३ पुसमा सजाय निर्धारण भएको हो । 

विशेषका अनुसार छपालीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । ७४ लाख ५९ हजार रुपैयाँभन्दा बढी बिगो निर्धारण भएको छ भने बिगोको दोब्बर जरिवाना हुने फैसलामा उल्लेख छ । छपालीको खातामा रहेको ६४ लाख ६६ हजार रुपैयाँभन्दा बढी रकम जफत हुने भएको छ भने उनको नाममा रहेको गाडी तथा जग्गासमेत जफत हुने फैसला विशेषले गरेको छ । पटकपटक लागुऔषध मुद्दामै पक्राउ परेका र सजायसमेत काटेका छपालीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक करोड रुपैयाँभन्दा पनि बढी रकमको सम्पत्ति शुद्धीकरण गरेको भन्दै ८ असोज ०७७ मा मुद्दा चलाएको थियो । 

अमेरिकामा ठगी गरी पैसा नेपाल पठाएका जोशी पनि दोषी ठहर
विशेषले अमेरिकामा ठगी कसुरमा दोषी देखिएका पंकज जोशीले सम्पत्ति शुद्धीकरणसमेत गरेको फैसला सुनाएको छ । अमेरिकामा रहँदा आफू काम गर्ने स्टोरमा चिट्ठा परेको एक वृद्धको पैसा साटेर उनले २०१० मा १० लाख आठ हजार डलर नेपालको बैंकमा पठाएका थिए । यो पुरानो घटनाले सम्पत्ति शुद्धीकरणको ऐन पनि आकर्षित हुने भन्दै दुई करोड आठ लाखभन्दा बढी बिगो माग दाबीसहित ०७७ चैतमा विशेषमा मुद्दा दायर भएको थियो । यसमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले १७ पुसमा आरोप दाबी पुग्ने फैसला गरेको हो । यो मुद्दामा २५ पुसमा सजाय निर्धारण गर्दै जोशीलाई विशेषले दुई करोड ६ लाख रुपैयाँभन्दा बढी बिगो निर्धारण गरेको छ । उक्त रकम जरिवानाका रुपमा जोशीले बुझाउनुपर्नेछ । साथै खातमा रहेको रकम ७७ हजार आठ सय रुपैयाँभन्दा बढी जफत हुने फैसला भएको छ । 

बमकाण्डमा जोडिएका गिरीसमेत दुईले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि
भारतको रेलवे लिकमा बम विस्फोट गराउने योजना विफल भएपछि उक्त घटनामा संलग्नको नेपालमा हत्या गराउने बृजकिशोर गिरी र समसुल होदा पनि सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । पाँच वर्षअघिको यो मुद्दामा विशेषले दुईजनामाथि यो कसुर कायम भएको हो । दुवैजनालाई जनही १२–१२ वर्ष कैद तथा २७ लाख २५ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने फैसलामा उल्लेख छ । यो मुद्दामा १९ मंसिरमा कसुर कायम भए पनि २८ मंसिरमा विशेषले सजाय निर्धारण गरेको हो । आतंकवादी गतिविधिमा कमाएको रकम रहेको भन्दै सम्पत्ति शुद्धीकरण भएको विशेषको ठहर छ । उनीहरूले भारतविरुद्ध गतिविधि गर्ने समूहसँग मिलेर बम विस्फोटको योजना बनाएको, तर विफल भएपछि यसमा संलग्न दुईजनाको हत्या गराएको अभियोगसमेत उनीहरूमाथि थियो । 
 

सुझावित समाचार