त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। आर्मी कोशी प्रदेशलाई नाै विकेटले हराउँदै विजयी भएको हो।
जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए। उनले २७ बलमा ६ चौका र एक छक्कासहित ३२ रन बनाएका हुन्।
ओपनर इमरान शेखले २५ बलमा पाँच चौका र एक छक्कासहित ३२ रन बनाए। कुशल मल्ल सात बलमा चार चौका र एक छक्कासहित २२ रनमा नटआउट रहे। कोशीका सुजन थपलियाले एक विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। कोशीका कप्तान अंकित सुवेदीले ३७ बलमा नाै चौकासहित सर्वाधिक ४१ रन बनाए। त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए। कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक–एक विकेट लिए।