१२ माघदेखि छैटौँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कृषीसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषि क्षेत्रको विकास गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा इटिएसआइपिएलले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । १४ माघसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टल रहने आयोजकले बताएको छ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले गर्ने भएका हुन् ।
प्रदर्शनीको प्रवद्र्घकीय भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताइएको छ ।
दर्शकले उक्त प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि इत्यादिका बारेमा जानकारी लिन सक्ने बताइएको छ । प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत आमकृषकले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास आयोजकले लिएको छ ।