पर्यटनलाई समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएकाले अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सीधै होटेलमा आपूर्ति गरी ‘फार्म टू प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन्।

होटेल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मंगलबार ‘सत्कार दिवस’मा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

‘होटेल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सीधै होटेलका प्लेटमा पुर्याउने कार्यक्रम सञ्चालन गर्नुस्,’ उनले भने।

राष्ट्रपति पौडेलले नेपालको होटेल क्षेत्रले ‘अतिथि देवो भवः’को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए। पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा उनको जोड थियो।

राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिने उल्लेख गरे।

सुझावित समाचार