साँघुरो प्रवेशद्वारका कारण टुँडिखेलमा च्यापिए महिला र बालबालिका

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण
साँघुरो प्रवेशद्वारका कारण टुँडिखेलमा च्यापिए महिला र बालबालिका

फाइल तस्बिर ।

टुँडिखेलमा सोमबार मगर र थारू समुदायको माघे संक्रान्ति मेला थियो। माघे संक्रान्ति मनाउन सरकारले पनि सोमबार बिदा दिएको थियो। मेलामा सहभागी हुन हजारौँ टुँडिखेल पुगिरहेका थिए। 

त्यसो त पछिल्ला प्रत्येक वर्ष यो संख्या बढिरहेको छ। तर, टुँडिखेल प्रवेश गर्ने प्रवेशद्वारा हिजो जत्रो थियो, आज पनि त्यत्रै छ। न अन्य अस्थायी प्रवेशद्वारहरू बनाइएका थिए न भएको वैकल्पिक द्वार पनि खोलिएको थियो। जसका कारण प्रवेशद्वारमा धकेलाधकेल चलिरह्यो। 

मेला प्रवेश गर्न आयोजकले पश्चिमतर्फको मात्रै प्रवेशद्वार खोलेको थियो। प्रवेश गर्ने र बाहिरिनेहरू त्यही द्वारमा एकैपटक भेट हुँदा धकेलाधकेल हुँदै गयो। ठेमलमेठ चलिरह्यो। जसका कारण मानिसहरू च्यापिन थाले। र, घाइते हुन थाले। घाइते हुने महिला र बालबालिका छन्। 

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले प्रवेश द्वार साँघुरो हुँदा ठेलमठेल मच्चिएको र सोही क्रममा १६ जना घाइते हुन पुगेको बताए। 

उनले भने, ‘भित्र मगर र थारू समुदायको माघे संक्रान्ति मेला थियो। मेला भर्न सर्वसाधारणको घुइँचो लाग्यो। तर, भित्र प्रवेश गर्न एउटा मात्रै द्वार खोलिएको थियो। द्वारले धान्न सकेन। ठेलमठेल चल्यो। यही क्रममा १६ जना घाइते हुन पुगे।’

सर्वसाधारण घाइते भएपछि प्रहरीले टुँडिखेलभित्र प्रवेश गर्ने सहिद गेटतर्फको द्वार पनि खोलेका थियो। त्यसपछि भने आउजाउ सहज बनेको थियो।

घाइतेमा खोटाङको हलेँसी तुवाचुङ नगरपालिका–१० की १२ वर्षीया त्रिसना मगर, ललितपुरको चामुण्डाकी १२ वर्षीया अन्जना तामाङ, धादिङको गंगाजमुना गाउँपालिका–५ की १९ वर्षीया रेजिना घले, ललितपुरको चाखुपाटकी १६ वर्षीया निकिता मगर, बर्दियाको राधापुर नगरपालिका–१ की ३० वर्षीय रेखा चौधरी र प्युठानको खलंगा गाउँपालिका–४ की १६ वर्षीया अनिसा केसी छन्।

त्यस्तै, घटनामा कैलालीको भजनिया नगरपालिका–३ की २५ वर्षीया कल्पना चौधरी, सुनसरीको धरान उपमहानगरपालिका–३ की २२ वर्षीय मन्दिरा बस्नेत, ललितपुर महानगरपालिका–२२ की ४० वर्षीया मीना थापा, कैलालीको घोडाघोडीकी १९ वर्षीया रिजा रेश्मी मगर पनि घाइते भएका छन्। 

घाइतेमा हुनेमा नेपाल प्रहरीका एक जवान पृथ्वी बुढामगर पनि छन्। कोशी प्रदेश तालिम केन्द्र दरबन्दी भएका उनी हाल त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत छन्। 

पाल्पाको तानसेन नगरपालिका–१४ का २५ वर्षीया निशा राना थापा, संखुवासभाको म्यादी नगरपालिका–४ का २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगरपालिका–२२ का २७ वर्षीया रश्मी नेपाल, काठमाडौं चौमतीकी ११ वर्षीया युनिका बराल, उदयपुरको रौतामाई गाउँपालिका–८ की १४ वर्षीया करिश्मा मगर पनि घाइते भएका छन्। 

सुझावित समाचार