हिमालयन बैंकको वार्षिक साधारणसभा सम्पन्न

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडको ३१औँ वार्षिक साधारणसभा पुस २९ गते आइतबार सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए।

यसका साथै उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गरिरहेको जानकारी गराए। उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्रसम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए।

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. ०७९/८० को अन्त्यसम्म प्राप्तिसहित रु. दुई खर्ब ७८ अर्ब ५२ करोड निक्षेप  संकलन र रु. दुई खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराए। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ प्रतिशत र ५५.१७ प्रतिशतले बढी हो। 

साधारणसभाले बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थप गरी साधारण सेयर थप सार्वजनिक निष्कासन (एफपिओ) गर्ने तथा उक्त थप सार्वजनिक निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने पाँचजना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनीलबहादुर थापा र प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका तथा सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएकाे जानकारी निर्वाचन अधिकृत रमेश सापकोटाले गराए।

त्यसैगरी, सोही दिन बसेको बैंकको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालकहरूमध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी चार वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ।

सुझावित समाचार