औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै थप २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।

नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आइतबार आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन्।

त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो  समय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए।

प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘देश आत्मनिर्भर बन्ने आशालाग्दो एउटा  क्षेत्र यो पनि हो। सबै कुरा एकैपटक नहोला। तपाईंहरू काम सुरु गर्नुस्। म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु। यस क्षेत्रमा जनतालाई महसुस हुने गरी काम गरौँ।’

औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

अध्यक्ष न्यौपानेले औषधि लिमिटेडले भुक्तानी गर्नुपर्ने विगतको दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिन खरिद गरी उत्पादनलाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार