वन मुद्दाकाे फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

लामो समयदेखि वन क्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन्। न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वन क्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन्।

वन क्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको छिनोफानो नहुँदा लिलामी प्रक्रियामा जान नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ। 

यसरी वनसम्बन्धी मुद्दा नछिनिँदा एकातर्फ बहुमूल्य काठ धोत्रिँदै सड्न थालेका छन् भने सर्वसाधारणले काठ खरिद गर्न पाउनबाट वञ्चित भएका कार्यालयका प्रमुख सन्तोष झाले बताए।

चोरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनुवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ। चोरी निकासीका क्रममा वा चोरी कटान गरी लुकाइछिपाई राखिएका काठसम्बन्धी मुद्दाका कारबाही अगाडि बढाउँदा रु. दुई लाख बिगोभित्रका मुद्दा वन कार्यालयको इजलासले सुनुवाइ गर्ने व्यवस्था छ। रु. दुई लाखभन्दा बढीका काठ बरामद भएका सोसम्बन्धी मुद्दा जिल्ला अदालतमा हुने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख झाले जानकारी दिए। 

 मुद्दा किनारा नलागी काठ लिलाम तथा बिक्री गर्न कानुनी प्रक्रिया नपुग्दा बरामद गरी राखिएका काठ सड्न थालेका प्रमुख झाले बताए। 

उनका अनुसार अहिले करिब चार हजार क्युबी फिट साखु र अन्य काठका गिँड (गिन्डा) लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन्। लिलामीका लागि अदालती फैसला कुर्नुपरेको भन्दै थन्क्याइएका काठको मूल्य एक करोडसम्म पर्ने वन कार्यालयका कर्मचारीको भनाइ छ।

डिभिजन वन कार्यालयमा ०४८ यता हालसम्म दुई सयभन्दा बढी वन मुद्दा (काठ चोरी निकासीसम्बन्धी) रहेका डिभिजन प्रमुख झाको भनाइ थियो। उनका अनुसार यी मुद्दा दुई लाख बिगोभित्रका हुन्। यसबाहेक दुई लाखभन्दा बढी बिगोका मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेका कार्यालयले जनाएको छ। 

सुझावित समाचार