नयाँ संरचनामा आजबाट पिएम कप क्रिकेट

शनिबार, २८ पुष, २०८०
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपटक नयाँ संरचनामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । २० माघसम्म चल्ने पिएम कपमा सात प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता पहिलोपटक राउन्ड रोबिना पद्धतिअनुरूप हुन लागेको हो । अंकतालिकाको शीर्ष चार टोलीबीच एलिट ट्रफी हुनेछ । ‘प्रतियोगितालाई लामो र खेलाडीलाई व्यस्त बनाउन यस्तो संरचनामा आयोजना गरेका हौँ,’ क्यानका सचिव पारस खड्काले भने । 

पछिल्ला संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गर्ने र शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान बनाइएको थियो । अघिल्लोपटक एक टोलीले धेरैमा पाँच खेलसम्म खेल्थ्यो । अहिले लिग चरणमा नौ खेल रहेका छन् । शीर्ष चार टोलीहरूले कम्तीमा थप तीन खेल खेल्न अवसर पाउनेछन् । एलिट ट्रफीका सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय पद्धतिमा हुने क्यानका सचिव खड्काले बताए । क्यानले यही प्रतियोगिताबाटै नेपालको ‘ए’ टोली बनाउने योजना बनाएको छ । यू–१९ टोली र यू–१६ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको ‘ए’ टोली घोषणा क्यानले गर्नेछ । 

क्यानको क्यालेन्डरअनुसार नेपालले मार्चमा आयरल्यान्डको ‘ए’ टोलीसँग खेल्नेछ । यसपटक राष्ट्रिय टोलीमा नयाँ खेलाडीले अवसर पाउने क्यानको विश्वास छ । पिएम कपमा युवा खेलाडीले अवसर पाउनेछन् । 

तीनवटा मैदानमा खेल
क्यानले प्रतियोगिता तीनवटा मैदानमा आयोजना गर्दै छ । त्रिवि, मूलपानीको माथिल्लो मैदान र भैरहवाको सिद्धार्थ रंगशालामा खेल हुनेछन् । प्रतियोगितामा ४६ खेलमध्ये ११ खेल सिद्धार्थ रंगशालामा हुनेछन् । १७ खेल मूलपानीमा र फाइनलसहित १८ खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । 

See More On

सुझावित समाचार