विश्व व्यापार संगठनकाे व्यापार तथा विकास समिति सभापतिमा राजदूत सुवेदी निर्वाचित

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

विश्व व्यापार संगठनको आज भएको जनरल काउन्सिलको बैठकले जेनेभास्थित नेपाली राजदूत-स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई व्यापार तथा विकास समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । 

आगामी एकवर्षे कार्यकालका लागि उनी निर्वाचित भएका हुन् । नेपालका राजदूतलाई विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य भएपश्चात् उक्त संगठनको टियर एक तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको यो पहिलो अवसर हो । 

नेपाल विश्व व्यापार संगठनको सदस्य भएको २४ वर्ष मनाइरहँदा प्राप्त यो अवसर नेपालका लागि गौरवको विषय रहेको नेपाली राजदूतावासले जनाएको छ । राजदूत सुवेदीले उक्त पदको जिम्मेवारी यस वर्षको दोस्रो नियमित बैठकबाट आरम्भ गरी सन् २०२५ को पहिलो नियमित बैठकसम्म सम्हाल्नेछन् ।

विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भए तापनि पछिल्ला छलफल तथा बहसहरू विकासकेन्द्रित हुने गरेका छन्। राजदूत सुवेदीलाई विश्व व्यापार संगठनको माराकेस सम्झौताको क्षेत्राधिकारभित्र रही व्यापार र विकाससँग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्नेछ ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको नियुक्तिले नेपाललाई विश्व व्यापार संगठनका सदस्यहरूबीच विचार–विमर्श र सहजीकरण गर्नुका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरूसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ । 

यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मुलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहीकरण गर्ने सन्दर्भमा एउटा कोसेढुंगा हुनेछ । 

विश्व व्यापार संगठनका अन्य निकायहरूमा रहेका अतिकम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजीकरण गर्न र अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नति हुन गइरहेका मुलुकहरूका निम्ति अनुकूल वातावरण निर्माण गर्न निकै महत्वपूर्ण हुने जनाइएको छ । 

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नति हुने क्रममा रहेको सन्दर्भमा यो भूमिका अझ सान्दर्भिक र महत्वपूर्ण हुने नेपाली दूतावासले जनाएको छ ।

सुझावित समाचार