२३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप ९ माघदेखि

प्रतिस्पर्धी १२ टोली सार्वजनिक

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औँ संस्करण आउँदो ९ माघदेखि सुरु हुँदै छ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

२० माघसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ टोलीको नाम आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। क्लबका अध्यक्ष केशवराज बरालका अनुसार प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, मोफसलका टिम, आयोजक सहारा क्लबसँगै विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बरालका अनुसार प्रतियोगितामा थ्री स्टार क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, जावलाखेल युथ क्लब, राईजिङ स्टार फुटबल क्लब नवलपुर, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, आयोजक सहारा क्लबसँगै दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, जनही २५ हजार राशिसहितको विधागत उत्कृष्ट पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ।

प्रतियोगिताबाट एक करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र एक करोड ४९ लाख तीन हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।

विगत २२ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालन गरिरहेको छ। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा १७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचमा आठ जिल्लाका १४ बालक रहेका छन्। उनीहरूको पालनपोषण, शिक्षादीक्षासँगै फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको छ।

एकेडेमी सञ्चालनका लागि स्व. केसीका परिवारले दुई वर्षअघि वार्षिक १५ लाख प्रदान गर्ने गरी क्लबसँग १० वर्षे सम्झौता गरेको स्व. केसीका माहिला छोरा किरण केसीले जानकारी दिए। यसैगरी प्रतियोगिता सञ्चालन गर्न हिमश्रीले मुख्य प्रायोजनबापत १८ लाख र व्यवस्थापकीय कामका लागि वार्षिक पाँच लाख दिने हिमश्रीका निर्देशकसमेत रहेका केसीले जानकारी दिए। 
 

सुझावित समाचार