मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले लेखा सुपरिवेक्षण समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको छ । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।

५७ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पोखरा महानगरपालिका– १३ कसेरीस्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई बुधबार नै प्रहरीले अदालतमा उपस्थित गराएकोमा अदालतको काम नसकिएपछि हाल प्रहरी हिरासतमा राखिएको विकले जानकारी दिए ।

सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ३३ मध्ये ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । ठगीको आरोप लागेका अन्य २६ जना फरार छन् । कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो ।

प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो । त्यसअघि ६ पुससम्म गरी सात सय १४ वटा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

ती जाहेरीमा उल्लेख भएका रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो ।  सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार चार सय ४६ जना रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर बुझाएको विकले जानकारी दिए ।

See More On

सुझावित समाचार