पुरुष भलिबल च्याम्पियन बन्यो पुलिस

३४औँ पुरुष भलिबलको फाइनलमा पुलिस क्लबले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै जित्यो उपाधि

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना भएको ३४औँ पुरुष भलिबल प्रतियोगितमा पुलिस क्लब च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले सुरुको सेट गुमाए पनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा राख्न सफल भयो । पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्यायो । पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को अग्रता लियो । 

चौथो सेटमा एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले एक लाख पायो । विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान रक्षा ग¥यो । २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

रविन सर्वाेत्कृष्ट
च्याम्पियन नेपाल पुलिस क्लबका ओपन स्पाइकर रविन चन्द प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट खेलाडी रविनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रविनले नेपाल पुलिसकै घाइते खेलाडी आयुष्मा पुनमगरलाई प्रदान गर्ने बताएका छन् । पुलिसका पहल गहतराज उदयीमान खेलाडी घोषित भएका छन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरे । विधागततर्फ पुलिसका खेलाडीको वर्चस्व रहयो । कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिबेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिएका हुन् । सबैले जनही पाँच हजार प्राप्त गरेका छन् । 

सुझावित समाचार