बालकुमारीमा मारिएका शाहका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

कोरियामा बसोबास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका छन्

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

कोरियन भाषा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका वीरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । कोरियामा बसोवास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका हुन् । 

उक्त रकम अछाम सेवा समितिले बुधबार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतकका बुबा टेकबहादुर शाहलाई हस्तान्तरण गरेका छन् ।

इपिएस भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका वीरेन्द्र र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । कोरियामा रहेका नेपालीहरूले रावतका परिवारलाई पनि त्यति नै रकम पठाएका छन् ।

यो अभियान सामाजिक अभियन्ता, धनगढी- १ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा बिबी सिंहको अगुवाइमा भएकाे थियाे । यसैगरी, नेपाली सम्पर्क समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।

एनआरएन  कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद गरी यो आर्थिक हस्तान्तरण कार्यक्रममा भूमिका निर्वाह गरेका थिए । सहयोग संकलन अभियानअन्तर्गत सामाजिक अभियन्ता इशा गुरुङले शाह र रावतको परिवारलाई एक–एक लाख सहयोग गरेको सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले बताएका छन् ।

सुझावित समाचार