धमाधम छुट्दै अवैध उत्खननका आरोपी

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

सिराहामा एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खननमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू धमाधम छुट्न थालका छन्।

७ पुसमा एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा कमला नदीको बगर उत्खनन गरिरहेको अवस्थामा पक्राउ परेका चालक प्रदीपकुमार दर्लामी, स्थानीय ठेकेदार नीरज बस्नेत र १२ पुसमा पक्राउ परेका मो. खलिल राइन जमानतमा रिहा भएका हुन्।

कर्जन्हा नगरपालिका– ७ स्थित कमलेश्वरी बालुवा प्रशोधन उद्योग प्रालिका सञ्चालक राइनसहित तीनजनालाई मुद्दाका अनुसन्धान अधिकारीले खोजेका वेला उपस्थित गराउने गरी सोमबार माथवरको जिम्मा जमानीमा छोडी थप अनुसन्धान तथा तहकिकात गरिरहेको लहानस्थित डिभिजन कार्यालय सिराहाका सूचना अधिकारी राधेश्याम चौधरीले बताए।

उनका अनुसार वनको हिरासतमा रहेका तीनजनाविरुद्धको अनुसन्धान तथा तहकिकातमा समय बढी लाग्न सक्ने भएकाले जिल्ला सरकारी वकिल कार्यालयको पत्रादेशानुसार खोजी गरेका वेला उपस्थित गराउने गरी छोडिएको हो।

यसअघि कानुनविपरीत अवैध उत्खननको सिफारिस दिएको आरोपमा १३ पुसमा पक्राउ परेका कर्जन्हा नगरपालिका– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेल २४ घन्टा नबित्दै नगर प्रमुखको जमानतमा रिहा भएका थिए। डिभिजन वन कार्यालय लहानको टोलीले पक्राउ गरेका वडाध्यक्ष पोखरेललाई पनि आवश्यक परेको वेला उपस्थित गराउने गरी नगर प्रमुख भोलाप्रसाद पोखरेलको जमानतमा रिहा गरिएको थियो।

वडाध्यक्ष पक्राउ परेको भोलिपल्ट नगर प्रमुख पोखरेलको नेतृत्वमा स्थानीय बासिन्दाले बन्दीपुरमा चक्काजाम गर्नुका साथै सबडिभिजन वन कार्यालयमा तालाबन्दी गरेका थिए।

सुझावित समाचार