राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनजना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो उम्मेदवारी माओवादी केन्द्रका रेनु चन्दले गराइन् । संविधानसभा सदस्य चन्द माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।
उम्मेदवारी दर्ताका लागि उनी माओवादी केन्द्रका नेता, कार्यकर्तासहित मध्याह्न धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । चन्दले उम्मेदवारी दर्ता गराएलगत्तै काँग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसबाट कैलालीका नारायणदत्त भट्ट र कञ्चनपुरका बलदेव बोहराले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अपांगतातर्फ उम्मेदवारी दिएका भट्ट कांग्रेस कैलालीका सभापति हुन् । बोहरा कांग्रेस कञ्चनपुरका निवर्तमान सभापति हुन् ।
सुदूरपश्चिममा रिक्त हुने राष्ट्रिय सभाका तीन सिटमध्ये कांग्रेसले दुई र माओवादीले एउटामा उम्मेदवारी दिने गठबन्धनबीच आइतबार सहमति भएको थियो । सहमतिअनुसार कांग्रेसले अपांगता र अन्य तथा माओवादीले महिला कोटाबाट उम्मेदवारी दिएको हो ।
मनोनयन दर्ताका लागि अहिले एमालेका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । एमालेबाट महिलामा कैलालीका सावित्रादेवी घिमिरे, अन्यमा कञ्चनपुरका इश्वरीप्रसाद खरेल र अपांगतातर्फ कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गर्दैछन् ।