विद्युत् प्राधिकरणले मनोमानी गरेको भन्दै रुपन्देहीका २४ उद्योग आइतबारदेखि आन्दोलनमा होमिएका छन्। लाइन काटिएका चार र अन्य २० गरी जिल्लाका २४ उद्योग आन्दोलनमा होमिएका हुन्।
विद्युत् काटिएका उद्योगको लाइन निःसर्त जडानको माग गर्दै व्यवसायी उद्योग बन्द गरेर आन्दोलनमा होमिएका सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए।
ट्रंक लाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि प्राधिकरणले महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष श्रेष्ठले बताए। प्राधिकरणले विद्युत् प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युतको शुल्न तिर्न नसकिने बताउँदै उनले उद्योगीको आन्दोलनमा संघको ऐक्यबद्धता रहेको प्रस्ट्याए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्राधिकरणले उद्योगी–व्यवसायीमाथि अत्याचार गरेको आरोप लगाए। प्राधिकरणले उद्योगको मात्र नभई थुप्रै श्रमिकको लाइन पनि काटेको उनको भनाइ छ। उद्योगको लाइन काट्नु श्रमिकको रोजगारी काट्नुसरह हुने भन्दै उनले प्रयोगै नगरेको विद्युतको शुल्क तिर्न नसकिने प्रस्ट पारे। प्राधिकरणका निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई उद्योगी बदमास हुन् भन्ने भ्रममा पारेर समग्र मुलुकको उद्योग–व्यवसाय धरापमा पार्न लागेको उनको आरोप छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएकोमा आपत्ति जनाए। ‘प्रयोग भएको रकम तिर्छौँ भन्दा पनि तिर्न नदिएर एउटा पत्रका आधारमा पैसा उठाउन खोज्नु गलत हो,’ उनले भने। विद्युतको बक्यौता तिर्नुपर्ने र नपर्ने सबैलाई एउटै किसिमले व्यवहार गरेर लाइन काटिएको भन्दै उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले असन्तुष्टि पोखे। उनले समस्याको छिटोभन्दा छिटो समाधान गर्न आग्रह गर्दै उद्योगी मरिसकेपछि समाधान खोज्नु गलत भएको बताए।
‘उद्योग बन्द हुँदा दैनिक ७० लाखभन्दा बढी बैंकको ब्याज थपिन्छ। यो क्रम बढ्दै जान्छ, उद्योग सकिएपछि कसरी समाधान खोज्ने ?’ अग्रवालले प्रश्न गरे, ‘म बाँच्न चाहन्छु भन्दा हो उपचार गर्ने। भेन्टिलेटरमा पुगेपछि केका लागि उपचार आवश्यक हुन्छ ?’
घराना फुड्स प्रालिका सञ्चालक विकास गोयन्काले उद्योगहर पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा पनि लाइन काटेर विद्युत् प्राधिकरणले उद्योग सकाउने काम गरेको बताए। अहिले आन्दोलनमा कर्मचारीहरू आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने उनको चेतावनी छ।
प्राधिकरणलाई ज्ञापनपत्र
उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै विद्युत् प्राधिकरण भैरहवा शाखामा ज्ञापनपत्रसमेत बुझाएका छन्। समस्या समाधान नभए तीन हजारभन्दा बढी श्रमिकको रोजगारीमा प्रत्यक्ष असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले केही उद्योगको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए। उनले कार्यालयमा आएका ज्ञापनपत्रलाई तालुक कार्यालयमा पठाइएको र त्यहाँबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए।
रुपन्देहीका चारवटा उद्योगको लाइन विद्युत् प्राधिकरणले काटेसँगै दबाब दिन रुपन्देहीका थप २० उद्योगले पनि आइतबारदेखि उद्योग बन्द गरेर आन्दोलनमा होमिएका हुन्। विद्युत् प्राधिकरण सिद्धार्थनगर शाखामा रुपन्देहीको भैरहवा–बुटवल–सिद्धार्थ राजमार्ग करिडोरमा रहेका उद्योगहरूले काम बन्द गरी आन्दोलन सुरु गरेका हुन्।
करिडोरका गोयन्का फुड्स, घराना फुड्स, श्याम प्लास्टिक उद्योग, भलवारी स्वचालित चामल कारखाना, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिज, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज, पञ्चकन्या स्टिल, सोना प्याकेजिङ, एसआर स्टिल, नवनेपाल प्लास्टिक इन्डस्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेसनल रबर इन्डस्ट्रिज, जयदुर्गा प्लास्टिक, सोना पोलिमर्स इन्डस्ट्रिज, यशोदा फुड प्रालि, प्रिया प्याकेजिङ, एजी हेल्थ उद्योग, एभरेस्ट रोलिङ, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्रालि, लुम्बिनी पिएससी इन्डस्ट्रिज र जिबी टेक्सटाइलले उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका छन्।