धारिलो ढुंगा प्रहार गरी एकै घरका दुईको हत्या

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा शनिबार दिउँसो एकै घरका दुईजनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका– ७ बिमकी ७० वर्षीया मनीषा र सात वर्षीया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । मनीषाको लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो भने गम्भीर घाइते भएकी प्रियंकाको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो । 

सोही घटनामा चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया मालिका– ७ बिम तल्लोगाउँकी अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्ये देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो ।

प्रियंकाका भाइ प्रिन्सले भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनीषाका छोरा र बुहारी खेतमा काम गर्न गएको समयमा घटना भएको थियो । जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एकजना महिलामाथि पनि धारिलो ढुंगा प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् ।

उक्त घटनामा संलग्न भएको एक व्यक्तिलाई मालिका– ७ बिमवाङबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको र अनुसन्धानका क्रममा रहेकाले आइतबार तथ्यसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

See More On

सुझावित समाचार