टाइगर ब्रुअरीका अध्यक्ष खड्कामाथि हातपात

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

सेयरको विषयमा विवाद भएपछि टाइगर ब्रुअरीका अध्यक्ष प्रेम खड्कालाई अंकित रुँगटाले हातपात गरेका छन्। खड्कालाई रुँगटाले हाँडीगाउँस्थित ब्रुअरीकै कार्यालयमा गएर हातपात गरेका हुन्। 

ब्रुअरीका सञ्चालिका ईश्वरी खड्काका अनुसार रुँगटाले अध्यक्ष खड्कासँग समय लिएर भेट्न गएका वेला हातपात गरेका हुन्। हातपातपछि घटनास्थलमा प्रहरी पुगेको थियो। 

प्रहरीले छलफलका लागि दुवै पक्षलाई जिल्ला प्रहरी वृत्त मालीगाउँमा लगेको थियो। हातमा चोट देखिएपछि रुँगटालाई उपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो। 

वृत्त प्रमुख डिएसपी इन्द्र सुवेदीले खड्का र रुँगटाबीच बियरको बोतल खोसाखोस गर्ने क्रममा भुइँमा झरेको र सोही बोतलको सिसाले हात काटेको बताए। 

उनले भने, ‘दुई पक्षबीच सेयरको सम्बन्धमा विवाद रहेछ। यही क्रममा  दुई पक्षबीच कार्यालयमा छलफल चलेको रहेछ। विवाद बढ्दै गएपछि दुईबीच धकेलाधकेल भएछ। बियरको बोतल भुइँमा झरेछ। बोतलको सिसाले रुँगटाको हात काटेछ। विषय यही हो। यसलाई ठूलो बनाउनु आवश्यक छैन। दुवै पक्ष छलफलमा छन्। विवाद मिल्छ।’

ब्रुअरीका सञ्चालिका खड्काले भने रुँगटाको कम्पनीसँग कुनै सम्बन्ध नभएको बताइन्। उनले भनिन्, ‘रुँगाटासँग कम्पनीको कुनै सम्बन्ध छैन। यसले कम्पनीको सञ्चालकलाई बोरामा पैसा दिएको भन्छ। तर, त्यसको कुनै प्रमाण छैन। सोही विषयलाई लिएर ऊ यसअघि पनि कार्यालय आएको थियो। अहिले भने हातपातमै उत्रियो।’

सुझावित समाचार