परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका सिलसिलामा मन्त्री साउदले मंगलबार छलफल गरेका हुन्।
छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए।
भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिए।
बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो।
मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौड्याल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो।