पिस प्वाइन्टले सातौँ नेफऋत कप अन्तरविद्यालय जुनियर यू– १६ छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चाबहिल गणेशस्थान मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५–२ ले पराजित गर्यो । पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान दुई गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए । राहुल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । लुम्बिनी एकेडेमीले तेस्रो स्थान रक्षा गर्यो । लुम्बिनीले बोन स्काइलार्कलाई २–० ले हरायो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे ।
प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने । न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी ठहरिए । गोलरक्षकमा पिस प्वाइन्टका निराजन देउवा, डिफेन्समा पिस प्वाइन्टका महेश राई तथा स्ट्राइकरमा पिस प्वाइन्टकै राहुलकुमार योञ्जन उत्कृष्ट भए । यसैबीच, डेनमार्कमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि यसै प्रतियोगिताबाट ३० खेलाडी छनोट गरिएको छ । आगामी २२ देखि २७ जुलाईसम्म हुने प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएको नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराएका छन् ।
ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले उत्कृष्ट २८ खेलाडीलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेका छन् । विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ऋतका प्रिन्सिपल आनन्दकुमार यादवलगायतले पुरस्कृत गरेका छन् । ८ पुसदेखि सुरु भएको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।