सुजनकी बिरामी आमालाई भनिएको छ– छोरा आइसियूमा छ

‘ढाँटेका हुन् कि ! साँचो हो भनिदेऊ न, मेरो बाबु (छोरा) आइसियूमा छ र ?’ घरमा नयाँ मान्छे पुग्नेबित्तिकै सुजनकी आमा नन्दा कटवाल प्रश्न गर्छिन्

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण
दैलेखका २३ वर्षीय सुजन राउत

रोजगारीका लागि कोरिया जान्छु भनेका दैलेखका २३ वर्षीय सुजन राउतको शुक्रबार बालकुमारी घटनामा ज्यान गइसकेको छ । तर, छोराको मृत्युको खबर बिरामी आमा नन्दा कटवाल (राउत)लाई दिइएको छैन ।

उनलाई सुजन घाइते भएर अस्पतालको आइसियूमा उपचाररत रहेको सुनाइएको छ । ‘ढाँटेका हुन् कि ! साँचो हो भनिदेऊ न, मेरो बाबु (छोरा) आइसियूमा छ र ?’ घरमा नयाँ मान्छे पुग्नेबित्तिकै कटवाल प्रश्न गर्छिन् । उनी सुगर र प्रेसरकी बिरामी हुन् ।

नन्दाका भाइ यामराज कटुवालले भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई समस्या हुने डरले सत्य भन्न नसकिएको बताए । नन्दाका श्रीमान् भक्तबहादुर राउतको एक वर्षअघि मात्रै ब्रेन ट्युमरका कारण ज्यान गएको थियो ।

श्रीमान् बितेको करिब दुई महिनामा उनले आमा गुमाएकी थिइन् । ‘आमाको मृत्यु भएका वेला दिदी बेहोस हुनुभएको थियो, अस्पताल लगेर मात्र पछि होस आएको हो । अहिले फेरि छोराको मृत्युबारे सुनाउँदा समस्या हुन्छ कि भनेर मोबाइल पनि हेर्न दिएका छैनौँ,’ यामले भने । महाबु गाउँपालिका स्थायी घर भएका राउत परिवार नारायण नगरपालिका– १ मा बस्दै आएको छ । बाबु बितेपछि आमा, बहिनी र भाइको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो ।

सुझावित समाचार