भैरहवामा रहेको फ्युचर लाइट हाई स्कुलमा कोरियन पाठ्यक्रम पढाइने भएको छ। पाइलट प्रोजेक्टको रूपमा विद्यालयस्तरमै कोरियन पाठ्यक्रम सुरु गरिएको विद्यालयका सञ्चालक गम्भीर गुरुङले बताए।
नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयमै कक्षा ९ देखि कक्षा १२ सम्म क्रमशः अध्यापन गराइने उनको भनाइ छ। दक्षिण कोरियाको दूतावासले पाठ्यक्रममा आधारित कक्षा ९ को पुस्तक औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरेको गुरुङले बताए।
यसले विद्यार्थीहरूलाई भविष्यमा कोरिया अध्ययनको लागि जान अतिरिक्त भाषाका कक्षाहरू लिनुपर्ने झन्झट हट्ने उनले बताए। ‘हामीसँगै यसको अध्यापन गराउने दक्ष जनशक्ति छ, कोरिया सरकारसँगको सहकार्यमा शिक्षकहरू उत्पादन गरेका छौँ,’ गुरुङले भने।
आगामी वैशाख महिनादेखि आफ्नै विद्यालयका ३८ विद्यार्थीहरूबाट कोरियन भाषाको पाठ्यक्रम सुरु गर्ने उनको भनाइ छ। त्यसको लागि आवश्यक पर्ने पुस्तकहरू दक्षिण कोरियाली दूतावासकी काउन्सिलर किम युन्मी सुङले हस्तान्तरण गरेकी छिन्।