मौरी पालेर वार्षिक आठ लाख कमाइ

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिका– १० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रूपमा उन्नत जातका मौरीपालन गरेर सफल माहुरी उद्यमीको रूपमा स्थापित भएका छन्।

विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीनजनालाई पूर्ण रूपमा र दुईजनालाई आंशिक रूपमा रोजगारी दिएका छन्। मौरीपालनबाट वार्षिक रु. आठ लाख बचत गर्न सफल भएको उनले बताए।

सफल व्यावसायिक मौरीपालकका रूपमा परिचित केसीको दिनचर्या मौरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ।

आजभोलि महको सिजन भएकाले उनी व्यस्त छन्। कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएस्सी एजीको अध्ययन पूरा गरेपछि ०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको मौरीपालन सुरुवात गरेको उनले  बताए।

सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीन सय घार मेलिफेरा जातका मौरी छन्। यस वर्ष १२ टन मह उत्पादन गरिसकेको र अझ उत्पादन बढ्ने उनको भनाइ छ।

मौरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनले बताए। उनका अनुसार उत्पादनको चरणअनुसार मह प्रतिकिलो पाँच सयदेखि आठ सय रुपैयाँसम्म बिक्री हुन्छ।

माहुरी फार्ममै मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका– ६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए। ‘महमा औषधिजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ,’ उनले भने।

केसीले फार्ममा हालसम्म रु. एक करोडसम्म लगानी गरिसकेका छन्। उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक रु. २२ देखि २५ लाखसम्म आम्दानी गर्छन्। सबै खर्च कटाएर वार्षिक रु. सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए। 

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन्। माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको केसीको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जंगल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको उनको अनुभव छ ।

‘सरकारले पहिलो प्राथमिकता माहुरीपालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ,’ केसीले भने। हाल उनको फार्ममा माहुरीपालनबारे जानकारी लिन, घार अवलोकनका लागि पनि मानिस आउने गरेका छन्। 

नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरूले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुःखेसो पोखे।

सुझावित समाचार