एकवर्षे कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्रीले गरेको सम्बोधन कस्तो लाग्यो ?
उहाँको एकवर्षे कार्यकाल अलि बढी नै भाषण गरेर बित्यो । बाहिर भाषण गर्नुभन्दा सिंहदरबारभित्रै बसेर काम देखाउन सक्नुपथ्र्यो । एक वर्षको अवधिमा देखाउन मिल्ने खालका ठुला सुधार खासै भएका छैनन् । बेरोजगारीको अवस्था उस्तै छ । शिक्षा, स्वास्थ्य, कृषि, यातायात कुनै पनि क्षेत्रमा देखिने स्तरको सुधार भएको छैन । अर्थशास्त्रको भाषामा भन्दा ‘स्ट्रक्चरल चेन्ज’ केही भएको छैन ।
प्रधानमन्त्रीले एक वर्षमा गर्न सक्ने, तर नगरिएका काम के–के हुन् ?
गन्दै जाने हो भने धेरै भेटिन्छन् । उहाँले मजाले गर्न सक्ने तर गर्न नसकेका या नगरेका सामान्य ‘रिफर्म’का काम नै बढी छन् । कृषि उत्पादन बढाउन सुधारका काम गर्न सकिन्थ्यो । तर, कृषि उत्पादन बढ्नुको साटो घट्दै गएको छ । मल, बिउ, कृषि औजारको समस्या उस्तै छ । रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता यथावत् छ । रोजगारी बढाउने कुनै पहल नै भएन । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा गर्न सकिने सुधारका काम पनि हुन सकेनन् ।
प्रधानमन्त्रीले कार्यशैली सुधार्ने बताउनुभएको छ । उहाँले कार्यशैली सुधार्न के गर्नुपर्छ ?
गफ कम, काम बढी गर्नुपर्छ । उहाँले चाहनुभयो भने गर्न नसक्ने होइन । तर, कांग्रेस, समाजवादीलगायतसँग उहाँको तालमेल नमिलेको हो कि के हो ? उहाँ अर्थतन्त्र संकटमा छ भन्दै आउनुभएको छ । तर, अर्थमन्त्री र उहाँबीच ‘स्पिरिट’ मिलेको देखिन्न । तलैसम्म अधिकार प्रत्यायोजन गरी प्रशासनिक सुधारमा ध्यान दिन सक्नुभएको छैन । त्यसतर्फ पनि ध्यान दिन सक्नुपर्छ ।