रुस–युक्रेन युद्ध सुरु भएको २१ महिना पुगेको छ । सो युद्धपछि विश्वभर हतियारको माग बढ्न थाल्यो । तर, यति हुँदा पनि गत वर्ष (सन् २०२२ मा) विश्वका १०० वटा ठूला हतियार कम्पनीको व्यापारमा भने कमी आएको देखिएको छ । स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले हालै सार्वजनिक गरेको रिपोर्टमा सन् ०२२ मा विश्वका सय ठूला हतियार कम्पनीको व्यापार ३.५ प्रतिशत घटेको उल्लेख छ ।
गत वर्ष यी कम्पनीले पाँच खर्ब ९७ अर्ब डलरभन्दा बढीको हातहतियार बिक्री–वितरण गरेका थिए । तर, सन् २०२१ मा यी कम्पनीले कुल ६ खर्ब १९ अर्ब हाराहारीको व्यापार गरेका थिए । ‘रुस–युक्रेनमाथि आक्रमण र वैश्विक भूराजनीतिक तनावका कारण सन् २०२२ मा हतियार तथा सैन्य उपकरणको माग वृद्धि भयो,’ रिपोर्ट जारी गर्दै सिप्रीले लेखेको छ, ‘तर, नयाँ अर्डर पाएर पनि कैयौँ अमेरिकी तथा युरोपेली हतियार कम्पनीले श्रमशक्तिको अभाव, बढ्दो लागत र आपूर्ति शृंखलाको व्यवधानले उत्पादन क्षमता वृद्धि गर्न सकेनन् ।’
गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरी युद्धको निम्ता दियो । त्यसैलाई हेरेर पनि कैयौँ देशले आफ्नो सुरक्षा थप मजबुत बनाउने नाममा रक्षामा अत्यधिक खर्च गर्ने घोषणा गरे । यसले हतियार र अन्य सैनिक उपकरणको मागमा अकस्मात् वृद्धि देखिएको थियो ।
०२२ मा विश्वका सय ठूला हतियार कम्पनीको व्यापार २२ अर्ब डलरले घटेको छ, २०२१ मा यी कम्पनीको कुल व्यापार ६ खर्ब १९ अर्ब डलर हाराहारी थियो,स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले हालै सार्वजनिक गरेको रिपोर्टमा सन् ०२२ मा विश्वका सय ठूला हतियार कम्पनीको व्यापार ३.५ प्रतिशत घटेको उल्लेख छ ।
आपूर्ति शृंखलाको असर
सिप्रीको रिपोर्टलाई हेर्दा हतियार कम्पनी बढ्दो माग पूर्ति गर्न तयार भएका देखिँदैनन् । आपूर्ति शृंखला समस्या र उत्पादन क्षमतामा देखिएको चुनौतीका कारण हतियार उत्पादन गर्ने कम्पनी मागअनुसारको उत्पादन गर्न सकिरहेका छैनन् ।
सिप्रीमा हतियारमाथि शोध गर्ने शाखाकी निर्देशक लुसी बेरुद सुड्र्युका अनुसार अधिकांश कम्पनी भीषण युद्धका लागि हतियार उत्पादन गर्ने चुनौतीसँग जुधिरहेका छन् । कम्पनीले पहिल्यैदेखि धेरै हतियारका उत्पादनको अर्डर लिएको र त्यसमा बमबारुदको अर्डर बढेको सिप्री बताउँछिन् । साथै, भविष्यमा यी कम्पनीको व्यापार बढ्ने उनको आकलन छ । सन् ०२२ मा आएको गिरावटपछि पनि सन् २०१५ को तुलनामा ती सय ठूला कम्पनीको उत्पादन भने उल्लेख्य बढेको छ ।
समस्यामा अमेरिकी कम्पनी
धेरै व्यापारमा घाटा व्यहोर्नेमध्ये अमेरिकी र रुसी कम्पनी छन् । रिपोर्टका अनुसार अमेरिकी कम्पनीले सन् ०२२ मा कुल तीन खर्ब दुई अर्ब डलरको व्यापार गरेका छन् । यो सन् २०२१ को तुलनामा ७.९ प्रतिशतले कमी हो । अमेरिकी कम्पनीले आपूर्ति शृंखला (सप्लाई चेन)मा समस्या झेलिरहेका छन् । रिपोर्टमा सहभागी कम्पनीहरूको कुल व्यापारमध्ये आधा अमेरिकी कम्पनीको हिस्सा छ । त्यसपछि चिनियाँ कम्पनी छन् । चीनको कुल राजस्वमा १८ प्रतिशतको हिस्सा छ ।
अमेरिकी हतियार कम्पनी पहिलेदेखि लिएको अर्डर पूरा गर्न लागिपरेका छन् । तर, रुस–युक्रेन युद्धबीच अकस्मात् बढेको मागले उनीहरूको व्यापारमा कुनै वृद्धि नदेखिएको पनि रिपोर्टमा उल्लेख छ । उदाहरणका लागि जनरल डाइनामिक्सलाई लिन सकिन्छ । उक्त कम्पनी १५५ मिलिमिटर तोपको गोली बनाउने एक मात्र निजी अमेरिकी कम्पनी हो । युक्रेन युद्धमा यसको प्रयोग भएको छ । तैपनि, गत वर्ष उसको आम्दानीमा ५.६ प्रतिशतले कमी देखियो । मिसाइल र सैन्य विमान निर्माता कम्पनी लकहिड मार्टिनले एक खर्ब ५० अर्ब डलरकै पुरानो माग अझै पूरा गर्न सकेको छैन । गत वर्ष मार्टिनको आम्दानीमा ८.९ प्रतिशतले गिरावट आयो ।
एसियाली कम्पनीलाई फाइदा
रुसी कम्पनीबाट कम सूचना उपलब्ध हुँदा रिपोर्टमा दुई रुसी कम्पनी मात्रै सहभागी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । यी दुई कम्पनीको कुल व्यापार १२ प्रतिशतले घटेको छ । तर, जर्मन कम्पनीको व्यापार भने पहिल्यैदेखि बढेको छ । सिप्रीको सूचीमा सामेल चार जर्मन कम्पनी राइनमेटाल, थाइजेनक्रुप, हेनसल्ट र डिलको व्यापार औसत १.१ प्रतिशत बढेको छ । एयरबसजस्तो अन्तर्राष्ट्रिय कम्पनीको व्यापार ९.६ प्रतिशले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ ।
मध्यपूर्व र पूर्वी एसियाली कम्पनीको हातहतियार व्यापार बढेको रिपोर्टले देखाउँछ । इजरायली कम्पनी राफाएल, टर्किस कम्पनी बेकर र दक्षिण कोरियाली कम्पनी हुन्डाई रोटेमको व्यापार वृद्धि भएको छ । रिपोर्टले यसको प्रमुख कारण युरोपबाट आएको माग भएको उल्लेख गरेको छ ।
त्यसैगरी, ड्रोन निर्माता कम्पनी बेकरको व्यापार सबभन्दा बढी अर्थात् ९४ प्रतिशतले वृद्धि भएको छ । घरेलु माग र स्थानीय आपूर्तिकर्ताले एसियाली कम्पनीलाई गत वर्ष आपूर्ति शृंखलाको संकटबाट बचाएको सिप्रीका शोधकर्ता साओ लियाङको भनाइ छ । चीन, भारत, जापान र ताइवानमा त्यहाँको सरकारको सैन्य आधुनिकीकरण प्रयासले हतियार उत्पादन गर्ने कम्पनीलाई फाइदा पुगेको छ ।
एजेन्सीको सहयोगमा