‘पुस्तकरहित शुक्रबार’मा जोडिन इच्छुक संघ–संस्थालाई सूचीकृत हुन आह्वान

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालित ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’मा जोडिन चाहने इच्छुक संघ–संस्थालाई विद्यालयमा सूचीकृत हुन महानगरले आग्रह गरेको छ । यसरी सूचीकृत भएका संघ–संस्थाले एकदेखि आठ कक्षासम्म व्यावहारिक–प्रयोगात्मक कक्षा सञ्चालन गर्न पाउनेछन् ।

इच्छुकहरूलाई ११ पुसभित्र सूचीकृत हुन महानगरपालिकाको शिक्षा विभागले अनुरोध गरेको छ । ९ र १० कक्षामा गत शुक्रबारदेखि  ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । यसका लागि विद्यालयहरूले तालिम प्रदायक संघ–संस्थालाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् । ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ गत वर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार यसरी सञ्चालन हुने कार्यक्रमका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ । यो बजेट विद्यालयमा जान्छ । विद्यालयहरूले आफैँ कार्यक्रम सञ्चालन गर्नेछन् । 

सूचीकृत हुनेले चालू आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबारका लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घन्टाका कक्षा हुनेछन् । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘पाठ््यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।’

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरू गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका लागि सञ्चालन भएका र रात्रिकालीन विद्यालय बाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको हो । 

शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (बावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस् र गणित (स्टिम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् ।

सुझावित समाचार