उद्योगीको चुनौती– प्रमाण देऊ, पैसा लैजाऊ

प्राधिकरण भन्छ– आवश्यक परे प्रमाण देखाउँछौँ, व्यक्तिलाई दिँदैनौँ

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण
उद्योगीको चुनौती– प्रमाण देऊ, पैसा लैजाऊ

विद्युत् महसुल विवादको विषयमा नेपाल उद्योग परिसंघले गरेको पत्रकार सम्मेलन

उद्योगीहरूले टाइम अफ डे (टिओडी) मिटरको तथ्यांक (प्रमाण) दिएमा मात्रै डेडिकेटेड फिडर र ट्रंक लाइन प्रिमियम बक्यौता तिर्ने अडान लिएका छन् । यसबापतको प्रिमियम महसुल नतिरेको भन्दै प्राधिकरणले शुक्रबारदेखि उद्योगहरूको लाइन काट्न थालेको चार दिनपछि उद्योगीहरूले प्रमाणका आधारमा मात्रै बक्यौता तिर्ने घोषणा गरेका हुन् ।

प्राधिकरणले हालसम्म नौ उद्योगको लाइन काटिसकेको छ । सोमबार काठमाडौंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाले प्रमाण दिए मात्रै बक्यौता भुक्तानी गर्ने बताए । ‘प्राधिकरणले छुट बिल भनेर डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम शुल्कको बिल पठाएको छ । त्यसरी बिजुली प्रयोग गरेका उद्योगले भुक्तानी पनि गरेका छन् । तर, अहिले बक्यौता देखाइएका ६१ उद्योगले त्यसरी विद्युत् प्रयोग गरेका छैनन् । प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक देखाउनुस्, पैसा दिन्छौँ भनेका पनि छौँ,’ उनले भने, ‘तर, प्राधिकरणले त्यस्तो प्रमाण हामीलाई दिएको छैन । विनाप्रमाण हामी पैसा दिन तयार छैनौँ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघले पनि सोमबार विज्ञप्ति जारी गर्द टिओडी मिटरका आधारमा उद्योगीहरू रकम तिर्न तयार रहेको उल्लेख गरेको छ । टिओडी मिटरमा विद्युत् प्रयोगसम्बन्धी सम्पूर्ण तथ्यांक हुन्छ । यो घरहरूमा प्रयोग हुनेजस्तो सामान्य प्रकृतिको हुँदैन । कुन समयमा कति भोल्टेजमा विद्युत् आयो, कति युनिट विद्युत् खपत भयो, कतिपटक लाइन गयो ? भन्नेलगायतका विषयमा विस्तृत तथ्यांक हुन्छ । जुन तथ्यांक प्राधिकरणले हरेक वर्षको चैतमा डाउनलोड  गरेर राख्नुपर्छ । सोही तथ्यांक उद्योगीहरूले माग्दै आएका हुन् । 

प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरूलाई ६५ प्रतिशत प्रिमियम शुल्कमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट न्यूनतम २० घण्टा विद्युत् दिएको थियो । त्यसबापत प्राधिकरणले प्रिमियम मूल्यसहित बिल पठाए पनि उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली प्रयोग नगरेको दाबी गर्दै आएका छन् । यद्यपि, प्राधिकरणले त्यसको तथ्यांक दिएमा बक्यौता तिर्न तयार रहेको उद्योगहरूको भनाइ छ । प्राधिकरणका अनुसार ६१ उद्योगको २१ अर्ब ८७ करोड ८५ लाख बक्यौता छ । ब्याज र जरिवानासहित त्यो २७ अर्ब हाराहारी पुगेको छ । 

 पुस ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता विवाद 
यसमा साउन ०७२ देखि पुस ०७२ सम्म, पुस ०७२ देखि वैशाख ०७५ सम्म र जेठ ०७५ देखि जेठ ७७ सम्म गरेर तीन चरणको विवाद छ । प्राधिकरणले प्रचलित मूल्यभन्दा ६५ प्रतिशत बढी मूल्यमा साउन ०७२ देखि उद्योगहरूमा डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली दिन सुरु गरेको थियो । तर, कानुनअनुसार प्राधिकरणलाई विद्युत् महसुल दर तोक्ने अधिकार थिएन, छैन । त्यसैले प्राधिकरणले असार ०७२ मा निर्धारण गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल दर २९ पुस ०७२ मा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले अनुमोदन गरेको थियो । त्यसमा आयोगले अनुमोदन गरेको मितिभन्दा अघिको बक्यौता नतिर्ने उद्योगीको अडान छ । 

साथै, लोडसेडिङ अन्त्य भएपछिको अवधिको बक्यौता पनि नतिर्ने उनीहरूको जिकिर छ । वैशाख ०७५ मा लोडसेडिङ अन्त्य भए पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल दर खारेज नभएको भन्दै उद्योगहरूमा प्रिमियमसहितको बिल पाठएको थियो । पछि ०७७ असारमा नयाँ विद्युत् महसुल दर आएपछि प्राधिकरणले यस्तो बिल काट्न छाडेको हो । लोडसेडिङ अन्त्य भएको अवस्थामा जेठ ०७५ पछिको बक्यौता नतिर्ने उद्योगीको अडान छ । प्रमाण भएको अवस्थामा २९ पुस ०७२ देखि वैशाख ०७५ सम्मको अवधिको बक्यौता तिर्ने सिमेन्ट उत्पादन संघका अध्यक्ष थापाले बताए । 

 प्राधिकरणको दाबी : अर्बौँको बिल हचुवामा काटेको होइन
विद्युत् प्राधिकरणले तथ्यांककै आधारमा प्रिमियमसहितको बिल काटेको दाबी गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले यतिका ठूलो रकमको बिल हचुवाका भरमा नकाटेको बताए । ‘टिओडी मिटर र लससिटका आधारमा उक्त बिलहरू काटिएको हो । उक्त तथ्यांकलाई प्राधिकरण र मन्त्रिपरिषद्ले बनाएका दुई छुट्टाछुट्टै समितिले नै मान्यता दिएका थिए । प्राधिकरणजस्तो संस्थाले अर्बाैँको बिल हचुवामा काट्दैन । एकदमै गहिरो अध्ययन गरेर बिल काटिएको छ,’ उनले भने, ‘हामीसँग प्रतिउद्योग दुई सय पाना हाराहारीमा प्रमाण सुरक्षित छ । आवश्यक पर्ने ठाउँमा त्यो तथ्यांक देखाउन तयार छौँ । तर, कुनै व्यक्तिले माग्यो भन्दैमा दिने कुरा आउँदैन ।’ 

यद्यपि, सैद्धान्तिक विषयमा द्विविधा हुन सक्ने उनले बताए । ‘हामीले तीन वर्षअघि नै यो बिल दिएको हो । त्यसवेला उहाँहरूले किन प्रमाण खोज्नुभएन ? किन कानमा तेल हालेर बस्नुभयो । चित्त नबुझेमा प्राधिकरणको पुनरावलोकन समितिमा उजुरी गर्न पनि सकिन्छ, त्यो पनि गर्नुभएको छैन,’ उनले भने, ‘अहिले पनि प्राधिकरणको सम्पर्क तथा प्रक्रियामा आउनुभएको छैन, यसरी त समाधान हुँदैन नि ।’

  यो हो प्राधिकरणले देखेको विकल्प ?
विवादलाई समाधान गर्न मन्त्रिपरिषद्ले पारित गरेर कार्यान्वयनका लागि निर्देशन दिएको तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेको प्रतिवेदन नै अन्तिम विकल्प देखिएको छ । यसमा द्विविधा भएपछि सरकारले ऊर्जा सचिव दिनेश घिमिरेको संयोजकत्वमा कमिटी बनाएर अध्ययन अघि बढाएको थियो । त्यो कमिटीको प्रतिवेदनलाई साउन ०७७ मा मन्त्रिपरिषद्ले नै स्वीकृत गरेर कार्यान्वयन गर्न भनेको थियो । त्यो कमिटीले २९ पुस ०७२ देखि वैशाख ०७५ को (लोडसेडिङ अवधि)को पैसा उठाउनुपर्ने निर्णय गरेको थियो । त्यो पैसा उठाउने निर्णय प्राधिकरणले माघ ०७८ मै गरिसकेको छ ।

साउन ०७२ देखि २९ पुस ०७२ सम्मको अवधिमा बक्यौतामा शिवम् सिमेन्टको फैसला लागू हुने–नहुने यकिन गरेर निर्णय गर्न प्राधिकरणलाई भनिएको थियो । त्यसमा महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसला अन्यमा लागू नहुने राय दिएको छ । त्यसअनुसार साउन ०७२ देखि २९ पुस ०७२ सम्मको महुसुल उठाउने निर्णय प्राधिकरणले गरेको छ । 
बाँकी लोडसेडिङ अन्त्य भएपछिको अवधि (जेठ  ०७५ देखि जेठ ०७७ सम्म)को महसुल के गर्ने भन्नेबारे निर्णय गर्न विद्युत् नियमन आयोगलाई जिम्मा दिइएको थियो । तर, आयोगले अहिलेसम्म यसबारे कुनै पनि निर्णय गरेको छैन ।

आयोगले उचित निर्णय गरेमा यो समस्या समाधनतर्फ उन्मुख हुने प्राधिकरणका एक उच्च अधिकारीले बताए । साउन ०७२ देखि पुस ०७२ सम्मको ९७ करोड ४३ लाख, माघ ०७२ देखि वैशाख ०७५ सम्मको ६ अर्ब ४१ लाख, र जेठ ०७५ देखि जेठ ०७७ सम्मको आठ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बक्यौता छ । यो (१५ अर्ब ४२ करोड ८० लाख) प्राधिकरणले थप गरेको २५ प्रतिशत जरिवाना र ब्याजअघिको पैसा हो । 

 निजी क्षेत्रमा देखिएन एकमत
आर्थिक शिथिलताबीच उद्योगको लाइन काटिँदा निजी क्षेत्रमा भने एकता नभएको देखिएको छ । यसै पनि निजी क्षेत्रले चार दिनपछि आएर यसको प्रतिक्रिया दिएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रका संगठनले संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर, सोमबार महासंघले एकल रूपमा छुट्टै विज्ञप्ति जारी गर्दै आयोग बनाएर समाधान गर्नुपर्ने धारणा सार्वजनिक गर्यो । त्यसपछि परिसंघले सोमबार साँझ छुट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘आइतबार साँझसम्म महासंघ र परिसंघलगायतका संस्थाले संयुुक्त रूपमै विज्ञप्ति जारी गर्ने योजना थियो । तर, सोमबारसम्म आउँदा हामीमा एकमत देखिएन,’ एक उद्योगीले भने, ‘त्यसैले हामीले छुट्टाछुट्टै बाटो अपनाउन बाध्य भयौँ ।’ 

मध्यमार्गी उपाय खोज्न प्राधिकरण र उद्योगी तयार
उद्योगीहरू विद्युत् महसुल विवादलाई समाधान गर्न मध्यमार्गी उपाय खोज्न तयार पनि देखिएका छन् । महासंघले सोमबार नै विज्ञप्ति जारी गरेर उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरेर समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । परिसंघको पत्रकार सम्मेलनमा पनि अधिकांश उद्योगीले मध्यमार्गी उपाय खोज्न तयार रहेको बताएका छन् । 

परिसंघका अध्यक्ष राजेश अग्रवालले लाइन काटिएका उद्योगहरूमा तत्काल बिजुली आपूर्ति सुरु गरेर समस्या समाधन गर्नतर्फ लाग्नुपर्ने बताए । छलफलमार्फत नै यसलाई समाधान गर्नुपर्ने उनको भनाइ छ । यसैगरी, सर्वाेत्तम सिमेन्टका लगानीकर्ता विष्णु न्यौपानेले पनि कमिटी बनाएर समस्या समाधानमा लाग्नुपर्ने बताए । ‘यो विवाद लम्ब्याउनुहँुदैन । त्यसको समाधान गर्न एउटा विशेष समिति बनाउनुपर्छ । त्यसमा प्राधिकरण र सरकारको मान्छे मात्रै हुनुहुँदैन । हामी उद्योगीको पनि सहभागिता हुनुपर्छ । नभए छुट्टै स्वतन्त्र कमिटी बनाउनुपर्छ,’ उनले भने, ‘अनि यसको समाधानका लागि उचित विकल्प निकाल्नुपर्छ ।’

यता प्राधिकरण पनि यस विवादलाई मध्यमार्गी उपायमार्फत समाधान गर्ने पक्षमा पनि छ । तर, यसका लागि उद्योगीहरू प्रक्रियामा आउनुपर्ने प्राधिकरणको भनाइ छ । ‘हाम्रो तर्फदेखि उद्योगीलाई किस्ताबन्दीसम्मको समस्या दिन सक्छौँ । यसका अलावा विद्युत् नियमन आयोग, ऊर्जा मन्त्रालयजस्ता माथिल्लो निकायले कुनै विशेष निर्देशन दिन्छ भने मान्न तयार छौँ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, उद्योगीहरू प्रक्रियामा आउनुपर्छ ।’

See More On

सुझावित समाचार