एपिएफको लगातार तेस्रो जित

ह्याट्रिक जित निकाल्ने क्रममा एपिएफकी कप्तान इन्दु बर्माले ५१ बलमा ७० रनको योगदान दिइन्

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

एपिएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेका छन् । एपिएफले लुम्बिनीलाई ९० रनको फराकिलो अन्तरले हरायो । कोशीले मधेश प्रदेशलाई पराजित गरेको हो । अर्को खेलमा सुदूरपश्चिम र बागमतीले आ–आफ्ना खेल जितेका छन् ।

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा एपिएफले लुम्बिनीमाथिको जितसँगै तीन खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो हारको सामना गरेको लुम्बिनी समान खेलबाट २ अंक जोडेर छैटौँ स्थानमा छ । एपिएफले दिएको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर मात्र ६१ रन बनाउन सक्यो ।

 लुम्बिनीकी लक्ष्मी चौधरीले २८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । एपिएफकी इन्दु बर्माले सर्वाधिक तीन विकेट र बिनु बुढाले दुई विकेट लिए । टस जितेर ब्याटिङ गरेको एपिएफले इन्दु र ममता चौधरीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५१ रनको योगफल बनायो । इन्दुले ५१ बलमा सात चौका र एक छक्कासहित अविजित ७० रन बनाइन् । ममताले ५८ बलमा पाँच चौकासहित ५९ रन जोडिन् । दोस्रो विकेटका लागि इन्दु र ममताबीच १०९ रनको साझेदारी भएको थियो । 

कोशीको जितमा रुविनाको अर्धशतक 
कीर्तिपुर मैदानमा कप्तान रुविना क्षेत्रीको सानदार प्रदर्शनमा कोशीले मधेशमाथि ६० रनको सहज जित निकाल्यो । जितसँगै कोशी तीन खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । तीनै खेलमा हार सामना गरेको मधेश अंकविहीन छ । कोशीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन मात्र जोडेको थियो । 

मधेशकी एलिशा यादवले २७ र आरती महतोले १८ रन बनाए । पहिलो ब्याटिङ गरेको कोशीले २० ओभरमा चार विकेट गुमाउँदै १२९ रन बनाएको हो । कप्तान रुविनाले ६४ बलमा ९ चौकासहित सर्वाधिक ५७ रन बनाइन् । 

सुदूरपश्चिम र बागमतीको दोस्रो जित
सुदूरपश्चिम र बागमती प्रदेशले प्रतियोगितामा दोस्रो जित निकालेका छन् । सुदूरपश्चिमले कर्णालीलाई ८१ रन र बागमतीले गण्डकी प्रदेशमाथि चार विकेटको जित निकालेका हुन् । सुदूरपश्चिमले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा मात्र ७० रन बनायो । कर्णालीकी तिर्सना विश्वकर्माले २८ रन बनाइन् । सुदूरपश्चिमकी जानकी थापाले सर्वाधिक तीन विकेट लिइन् । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले कविता जोशीको अर्धशतकको मद्दतमा चार विकेटको क्षतिमा १५१ रन बनायो । कविताले ५० बलमा १० चौका र एक छक्कासहित अविजित ७८ रन बनाइन् । 

उनी पिएम कपमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । मूलपानी मैदानमा गण्डकीले प्रस्तुत गरेको ११३ रनको लक्ष्य बागमतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै ११२ रन बनायो । 

सुझावित समाचार