दक्षिण एसियाली स्केटबोर्डमा नेपालको दबदबा

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

नेपाली टोलीले पाँचौँ दक्षिण एसियालीस्तरीय स्केटबोर्ड प्रतियोगितामा दबदबा राखेको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा नेपालले समान तीन स्वर्ण, दुई रजत र तीन कांस्य हात पारेको छ । नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको आयोजनामा सिनियर पुरुषमा शरद् राई पहिलो भएका छन् ।

सिनियर महिलामा समीक्षा राईले खुसी विकलाई हराउँदै स्वर्ण जितिन् । पुरुष र महिलामा दुवैमा पहिलो हुनेले हजार अमेरिकन डलर प्राप्त गरेका छन् । उपविजेताले पाँच सय र तेस्रो स्थानका खेलाडीले २ सय ५० अमेरिकी डलर रुपैयाँ पाएका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार पहिलो भएका छन् । भारतका मोहम्मद विन जावेद दोस्रो र नेपालका कर्मा लामा गुरुङ तेस्रो स्थानमा रहे । यस विधाको विजेताले दुई सय अमेरिकन डलर, उपविजेताले एक सय ५० र तेस्रो स्थानमा आएका खेलाडीले सय डलर प्राप्त गरेको आयोजकले जनाएको छ ।  

पुरुष र महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजक संघका अध्यक्ष अच्युत खनालले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका गरी तीन सय खेलाडीको सहभागिता रहेका जानकारी दिएका छन् । 

सुझावित समाचार