क्यान्सरपीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ।

सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो। सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टिमसमेत हेरिसकेका छन्। नेपाली फुटबलका चर्चित अनुहारहरू चेतन घिमिरे, नीराजन श्रेष्ठ, दिनेश हेन्जन र वृजेश सिंह अर्यालकै उत्पादन हुन्।

‘सांग्रिला परिवारले प्रशिक्षक प्रकाश अर्यालज्यूको योगदानको कदर गर्दै हामीले सानो सहयोग गर्ने प्रयास गरेका हौँ,’ सहयोग हस्तान्तरणपछि बस्नेतले भने।

प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए।

‘एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ । उहाँहरूको सहयोगमा धन्यवाद दिन मसँग शब्द नै छैन । यो रोगलाई जितेर चाँडोभन्दा चाँडो मैदान फर्कन पाउँ भन्ने चाहना छ । तपाईंहरूको सहयोगप्रति सबैलाई धन्यवाद दिन चाहन्छु,’ सहयोग कार्यक्रममा अर्यालले भने।

अर्याललाई यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेका थिए।

सुझावित समाचार