जस्तोसुकै आक्रमण भए पनि मेरो अभियान जारी रहनेछ : लामिछाने

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि लक्षित गरेर खोया प्रहार भएको छ । पोखरा महानगरपालिका– ११ अम्मरसिंह चोकस्थित खेल मैदानमा शनिबार पार्टीले आयोजना गरेको खुला सभालाई सम्बोधनका क्रममा उनलाई लक्षित गरेर खोया प्रहार भएको हो ।

लामिछानेलाई खोया प्रहार गर्ने सन्तोष रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ घर भएका २८ वर्षका रानाभाट सवारीचालक हुन् । प्रहरी हिरासतमा रहेका उनलाई आवश्यक सोधपुछ गरिरहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए । 

रास्वपा अध्यक्ष लामिछानेले भने आफूलाई खोया प्रहार गर्ने पात्रलाई फूलको थुँगा दिएर घर पुर्याउन भनेका थिए । आफूमाथि जस्तोसुकै आक्रमण भए पनि आफ्नो अभियान जारी रहने उनले बताए । लामिछानेले आफू लहडमा नभई निश्चित मिसन र भिजनका साथ राजनीतिमा आएको बताए । ‘पाँच महिनाअघि दर्ता भएको पार्टीले २१ सिट ल्याएर देशमा परिवर्तनको आवश्यक छ भन्ने देखाइदिएको छ,’ उनले भने ।

उनले आफ्नो सपना पूरा नभएसम्म मकैको खोयालाई घरको भित्तामा झुन्ड्याएर राख्ने घोषणा गरे । ‘प्रतिशोध लिएर होइन, शिक्षा लिएर । नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् । हेर्, यदि तैँले बाटो बिराइस् भने आज त घोगा आयो, घोगा पाइस तैँले । यदि बाटो मात्र बिराइस् भने के मात्र पाउनेछस् कल्पना गर भनेर चेतावनी दिइएको हो,’ लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रूपमा लिएको छु । म यसलाई तबसम्म सजाएर राख्नेछु, जबसम्म तपाईंले र मैले देखेको साझा सपना पूरा हुनेछैन । तबसम्म जोगाएर राख्नेछु, जबसम्म आफूले बोलेका एक–एक शब्द वास्तविकतामा परिणत हुनेछैनन् । मेरो घरमा मैले संसारले मान्यता दिएको विश्व रेकर्डको प्रमाणपत्र पनि राखेको छैन, तर मेरा लागि त्योभन्दा पनि महत्वपूर्ण छ, जुन एकजना साथीले दिएर जानु भयो । मेरो उहाँप्रति अगाध सम्मान छ ।’ 

सुझावित समाचार