लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा सेवा सुरु

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

लघु जीवन बिमा व्यवसाय गर्ने इजाजत पाएको लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको कम्पनीको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शुक्रबार उद्घाटन गरेसँगै कम्पनीले औपचारिक रूपमा लघु बिमा सेवाको शुभारम्भ गरेको हो।

१७ पुस २०७९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बिमा प्राधिकरणबाट १ भदौ २०८० मा लघु जीवन बिमा व्यवसायको इजाजत–पत्र र १९ असोज ०८० मा व्यवसाय सञ्चालनको स्वीकृति पाएको कम्पनीका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए। अध्यक्ष पाण्डेका अनुसार कम्पनीले ‘समृद्ध कवच म्यादी जीवन बिमा योजना’ र ‘समृद्ध भविष्य लघु जीवन बिमा योजना’ गरी हाल दुईवटा बिमा योजना ल्याएको छ।

दुई बिमा योजनामार्फत कम्पनीले न्यूनतम २५ हजार र अधिकतम पाँच लाखसम्मको बिमा योजना सञ्चालन गर्ने र बिमाको अवधि ५, १०, १५ र २० वर्षको रहने बताइएको छ। बिमा गरेका बिमितहरूलाई दुर्घटना लाभबापत ०.७५ र स्थायी पूर्ण अशक्तता लाभबापत ०.६५ प्रतिहजार प्रदान गरिने तथा बिमालेख सक्रिय रहेको अवधिभित्र जुनसुकै वेला बिमितको मृत्यु भएमा मूल बिमा रकम परिवारलाई दिइने पाण्डेले जानकारी दिए।

यसैगरी, कम्पनीले म्यादी बिमासमेत सञ्चालन गरेको छ। जसका लागि बिमितले वार्षिक १३२ रुपैयाँ तिर्नुपर्नेछ। म्यादी बिमा गर्ने बिमितको एक वर्षभित्र मृत्यु भएमा परिवारले एक लाख रुपैयाँ पाउनेछन्।

पाण्डेले बिमाको पहुँच आमनागरिकसम्म पुर्याउने प्रतिबद्धता गर्दै बिमालाई नाफा कमाउने उद्देश्यमा मात्र सीमित नबनाई सामाजिक उद्यमशीलतामा जोड दिने प्रतिबद्धता जनाए।

प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवका अनुसार कम्पनीको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७५ करोड रहेकोमा हाल संस्थापकहरूद्वारा ५२ करोड ५० लाख चुक्ता भएको र बाँकी २२ करोड ५० लाख आइपिओ जारी गरी चुक्ता गरिनेछ।

प्रधान कार्यालको उद्घाटनसँगै कम्पनीले आफ्नो बिमाको पहुँच बढाउन नयाँ अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउँमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप–शाखा कार्यालय खोली लघु जीवन बिमाको सेवा विस्तार गर्ने यादवले जानकारी दिए।

सुझावित समाचार