प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो दिनको खेलमा युपी– ११ लाई नेपाल पुलिस क्लबले ६ विकेटले पराजित गरेको छ।
नारायणी रंगशालामा भएको खेलमा युपी ११ ले दिएको लक्ष्य पुलिसले १४.२ बल खेल्दै चार विकेटको क्षतिमा पूरा गरेको हो।
पुलिसका लागि शंकर राणाले नटआउट ३६ बलमा ३४ रन बनाए। यस्तै, पुलिसका कप्तान आरिफ शेखले २३ बल खेल्दै २३ रनको योगदान दिए। अर्का खेलाडी दिलीप नाथले १७ बलमा २१ रन जोडे।
प्रतियोगितामा युपी ११ का अहमदले २ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन मात्र दिए। अर्का बलरहरू भीम शर्मा र बासी अहमदले एक–एक विकेट लिए। भीमले दुई ओभरमा १० रन र बासीले ३ ओभरमा १४ रन खर्चिए।
यसअघि युपी ११ ले सात विकेटको क्षतिमा ८८ रन बनाएको थियो। २० ओभर खेल्दै ७ विकेटको क्षतिमा उसले ८८ रनको योगफल बनाएको हो।
युपी ११ का लागि निखिल प्रतापले २८ बल खेल्दै २४ रन बनाए। अर्का खेलाडी जयदीप सिंहले ३१ बलमा १७ रन र शुभम् चौधरीले १९ बलमा १५ रन जोडे।
खेलमा पुलिसका बलर रसिद खान एक्लैले तीन विकेट लिए। उनले चार ओभरमा १४ रन मात्र खर्चिए। अर्का बलर करण केसी र सागर ढकालले दुई–दुई विकेट लिए। करणले चार ओभरमा २० रन र सागरले समान चार ओभरमा २३ रन दिए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।
सिंगल राउन्ड रोबिनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।
आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा वन्डर क्लब नोयडा र पर्सा ११ ले प्रतिस्पर्धा गर्नेछन्।