सरकार भन्छ - रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, युक्रेनमा चार नेपाली बन्दी

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक कुन्दनसिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको जनाएको हो। 

मन्त्रालयले चार नेपाली नागरिक युक्रेनको कब्जामा रहेको जनाएको छ। मन्त्रालयका अनुसार बर्दियाको राजापुर– १ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ– २ का विकास राई र रोल्पा रुन्टीगढी– ८ का प्रतीक पुनः युक्रेनमा बन्दी रहेका छन् 

परराष्ट्र मन्त्रालयले बन्दी बनाइएका नेपालीहरूलाई शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको जनाएको छ। 

मन्त्रालयले रुसी सेनामा भर्ना भई युद्धमा परेर मृत्यु भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल ल्याउन पहल गरिएको जनाएको छ। 

‘यस मन्त्रालयले नेपालका लागि रुसका महामहिम राजदूत मार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ।’

मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन अडान राखिएको जनाएको छ। 

साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले दोहोर्याएको छ। 

सुझावित समाचार