म १० बजे नै कार्यालय आएर नियमित समीक्षा गर्छु : प्रधानमन्त्री

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन्। 

बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। 

बैठकमा प्रधानमन्त्रीले भने, ‘आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैँमा महत्त्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दै छ। मैले क्यालेन्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्यौँ, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु।’

‘म १० बजे नै कार्यालय आउँछु। नियमित रूपमा छलफल, समीक्षा र मूल्यांकन हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘जनतालाई डेलिभरी दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरी दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले कृषिका ७ प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए। मन्त्री भुसालले नदी प्रणालीलाई जोडेर सतही सिँचाइको प्रबन्ध, उत्पादनशील बिउको प्रबन्ध र किसानहरूलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरणमा जोड, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए। 

त्यसैगरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासी, स्वबासी, हरुवा, चरुवालगायतका समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराए। 

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कृषि क्षेत्रको उत्पादकत्व बढाउन तथा भूमिको वैज्ञानिक व्यवस्थापन गर्न प्याकेज जरुरी भएकोमा जोड दिँदै राज्यका अनुसन्धानमुखी निकायहरू गम्भीर हुनुपर्ने बताए। 

सुझावित समाचार