‘विवादित भएर सेनाको नेतृत्व गर्न सक्दिनँ, बरु छोड्छु भनेर गएका हुन्’

ताराध्वज पाण्डेको बढुवाका लागि सिफारिस भएको थिएन, दावीविरोधको सूचना प्रकाशित भएको थियो

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण
‘विवादित भएर सेनाको नेतृत्व गर्न सक्दिनँ, बरु छोड्छु भनेर गएका हुन्’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार सेनाका उच्चपदस्थ अधिकृतहरूको उमेर विवादबारे जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।

ताराध्वज पाण्डेको राजीनामाबारे प्रधानसेनापति भन्छन्-

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेको बढुवाका लागि सिफारिस नभएको स्पष्ट पारेका छन् । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार सेनाका उच्चपदस्थ अधिकृतहरूको उमेर विवादबारे जवाफ दिँदै प्रधानसेनापतिले पाण्डेको सिफारिस भएको भनेर अनाहकमा हल्ला गरिएको बताए । 

‘ताराध्वज पाण्डेको बढुवाका लागि सिफारिस भएको थिएन,’ उनले भने, ‘प्रत्येक बढुवाअघि उजुरीका लागि सातदिने सूचना निकाल्ने गरिएको हुन्छ । त्यही सूचना निकालिएको थियो । उमेर विवादमा परेका पाण्डेलाई रक्षा मन्त्रालयमा बढुवाको सिफारिस गर्‍याे भनेर हल्ला चलाए ।’

उनले व्यक्तिगत गुण, कार्यसम्पादन, नेतृत्व क्षमता, पेसागत क्षमता, कार्यकुशलता र प्रत्येक वर्ष मेडिकल परीक्षण हेरेपछि मात्र बढुवाको सिफारिस गर्ने गरिएको बताए ।

प्रधानसेनापतिले पाण्डेका विषयमा बाहिर विवादहरू आएपछि आफूले कुरा गरेको र आफूलाई भनेरै पाण्डेले राजीनामा दिएको स्पष्ट पारे । 

‘मैले आधा घन्टा राखेर यस्तो विवादित भएपछि कसरी चिफ चलाउन सक्छौ भनेर सोधेँ,’ सांसदहरूसमक्ष उनले भने, ‘तपाईं मेरो बुबाजस्तो मान्छे, मैले सक्दिनँ, यस्तो विवादित भएर म बस्दिनँ, छोड्छु भनेर मेरैअगाडि भनेर गएको हो । त्यसमा अन्यथा भएको छैन ।’ 

सुझावित समाचार