बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित ३ नम्बर पुलनजिक आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।
राति २ बजेको समयमा काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ७३०० नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीनजनाको मकवानपुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रकचालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुरको हेटौँडाका बसचालक ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का एकजना व्यक्तिको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।