‘हामी किन कहिल्यै केही पाठ सिक्दैनौँ ?’ यो विरक्तिको भाव एक बेबिनार मिटिङका क्रममा एकजना ल्याटिन अमेरिकाका नीति–निर्माताले व्यक्त गरेका थिए । ती शीर्ष नीति–निर्माता उनको देशले पहिले नै दर्जनौँपटक गरेको गल्ती पुनः दोहोर्याउन लागेबाट विरक्तिएका थिए । अर्जेन्टिनाको राष्ट्रपति चुनावको नतिजापछि मैले यो प्रसंग सम्झन पुगेँ । ‘अराजक–पुँजीवादी’ भनेर चिनाउने र राजनीतिमा भर्खरै प्रवेश गरेका हाभियर मिलेईको विजयले स्वाभाविक रूपमा विश्वको ध्यान तान्यो । तर, उस्तै उल्लेखनीय तथ्य उनका प्रतिद्वन्द्वी उम्मेदवार सर्जियो मासाले पाएको १.१५ करोड मत (कुल खसेकोमध्ये ४४.३ प्रतिशत) थियो । निवर्तमान अर्थमन्त्री मासाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका थिए ।
मासाले अर्थमन्त्रालय सम्हालेको समयमा अर्जेन्टिना ठूलो वित्त घाटामा चलिरहेको थियो, जसलाई ठूलो परिमाणमा पैसा छापेर वित्तपोषण गरिँदै थियो । परिणाम मुद्रास्फीति आकासियो । सन् २०२३ का लागि मुद्रास्फीतिीको सबैभन्दा न्यून प्रक्षेपणसमेत १३५ प्रतिशत थियो । सार्वजनिक ऋण जिडिपीको ९५प्रतिशत पुग्यो, र केन्द्रीय बैंकको डलर सञ्चिति जम्मा ५ अर्ब डलर हुन पुग्यो ।
मासालाई मत दिने १.१५ करोड अर्जेन्टिनीले यी रेकर्डलाई राम्रो मानेका थिए, जसले गर्दा तिनले यो स्थिति निम्त्याउन प्रत्यक्ष जिम्मेवार व्यक्तिलाई राष्ट्रपतिमा देख्न चाहे । चुनावको मुखमा राष्ट्रपति चुनिने लोभमा खर्च बढाएको र कर कटौती गरेका मासाले जितेका भए के चाहिँ भिन्न काम गर्न सक्थे भन्ने उनका मतदाताले सोचेका थिए होलान् ? अर्जेन्टिनाले व्यहोरेको असंख्यपटकको वित्तीय अराजकता र हाइपरइन्फ्लेसन(उच्च मुद्रास्फीतिको) रेकर्डका आधारमा एउटा प्रश्न सधैँ उठ्ने गर्छ, आखिर अर्जेन्टिनाले किन कहिल्यै पाठ सक्दैन ? वास्तवमा, यस प्रश्नमा एउटा होइन दुईवटा प्रश्न लुकेको छ– के विशेषज्ञले कहिल्यै पाठ सिक्छन् ? र, के मतदाता विज्ञहरूले पाठ सिके भनेका कुरामा कहिल्यै विश्वास गर्छन् ?
अधिकांश विशेषज्ञहरू (जसमा आधुनिक मौद्रिक सिद्धान्तका पक्षधर पर्दैनन्, तर यस सिद्धान्तलाई नै व्यंग्य गर्दै यसको नामअनुसार न यो भएको, न त यो सिद्धान्त रहेको भन्ने गरिन्छ) अर्जेन्टिनाको आर्थिक नीति अर्थहीन वा आत्मघातीबीचमा रहने कुरामा सहमत छन् । यसबाहेक अन्य कुरामा विशेषज्ञहरूबीच सहमति भेटिँदैन । ‘टिम ट्रान्जिटोरी(अस्थायी समूह)’ ‘टिम परमानेन्ट(स्थायी समूह)’ का सदस्यबीच सन् २०२१ पछिको वैश्विक मुद्रास्फीतिविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा विवाद छ । ‘अस्थायी समूह’ सुरुमा विजयी भए । र, अधिकांश केन्द्रीय बैंकहरू उनीहरूकै भरमा परे र मुद्रास्फीतिलाई दशकहरूकै उच्चस्तरमा पुग्न दिइयो । त्यसले आममानिसमा महँगीको आतंक सिर्जना भयो । त्यसपछि मौद्रिक नीति कडा बनाइयो र स्थायी समूहले आफूले जितेको घोषणा गर्यो । अब आएर मुद्रास्फीति आफैँ हराएर जान्छ भनेर वकालत गर्ने प्रख्यात अर्थशास्त्रीहरूले तिनको दृष्टिकोण गलत भएको स्वीकार गरे । बीचमा केही सेलाएको विज्ञहरूबीच बहस पुनः तातिएको छ ।
अर्जेन्टिनाको राष्ट्रपति चुनावमा आफूलाई ‘अराजक–पुँजीवादी’ भनेर चिनाउने हाभियर मिलेईको विजयले स्वाभाविक रूपमा विश्वको ध्यान तान्यो । तर, उनका निकट प्रतिद्वन्द्वी तथा निवर्तमान अर्थमन्त्री सर्जियो मासाले प्राप्त गरेको ११.५ मिलियन मत (४४.३%) चाहिँ खास उल्लेखनीय हो । देशको अहिलेको वित्तीय अराजकता र उच्च मुद्रास्फीतिको कारण रहेका मासालाई आखिर किन यति धेरैले राष्ट्रको प्रमुख बनाउन चाहे ? यो घटनाले मतदाताले कसरी मतदान गर्छन् भन्ने कुरामाथि प्रकाश पार्छ ।
उच्च ब्याजदरले संयुक्त राज्यमा मन्दी ल्याउने अशंका गरिएको थियो, तर त्यसको संकेत अझै देखिएको छैन । यसका कारण मुद्रास्फीतिमा घटाउन आश्चर्यजनक रूपमा थोरै पीडादायी विधि आवश्यक पर्छ । यस्तोमा अस्थायी समूहले अहिले आएर आफूहरू सुरुदेखि नै सही रहेको दाबी गर्न थालेका छन् । तिनीहरूमध्ये एकजना नोबेल पुरस्कार विजेता जोसेफ इ. स्टिग्लिट्जले विजयको शंखनाद गर्दै यहाँसम्म भने कि, ‘मुद्रास्फीतिको सुस्तता केन्द्रीय बैंकहरूले उठाएका कदमले गर्दा होइन, ती कदमका बाबजुद आएको हो ।’ धेरै विज्ञहरू (मसमेत) स्टिग्लिट्जको यस कुरालाई गलत ठान्छौँ । अमेरिकामा मुद्रास्फीति नियन्त्रण गर्न, उच्च ब्याजदरमार्फत विशाल वित्तीय विस्तारलाई कस्नुपर्ने थियो । र,मुद्रास्फीतिमा ठूलो भूमिका खलेको संकुचित माग र उच्च ऊर्जा मूल्य देखेको बेलायतमा पनि, ज्याला–बजार मूल्यको सहवृद्धि रोक्न संकुचनात्मक नीति आवश्यक थियो ।
तर, आममानिसको ध्यान बुद्धिजीवीबीचको बहस वा थाहा भएका भनिएका मानिसहरू नै सही पाठहरूमा सहमत हुन असमर्थ भएको अवस्थामा मात्र जान्छ । र, अर्कोपटक फेरि महँगी बढ्दा आमनागरिक तिनै बुद्धिजीवीका सुझाव सुन्न बाध्य हुन्छन् । र, यदि विज्ञहरूबीच कुनै मुद्दामा आमसहमति भयो भने पनि आममानिसले तिनलाई सुन्न आवश्यक नरहेको मान्न अवस्था पनि आउन सक्छन् । अधिकांश नीतिहरू (मुद्रास्फीति नियन्त्रण गर्नेहरू नीतिजस्तै) ले प्रभाव देखाउन समय लाग्छ । तर आधुनिक मतदातामा यसको परिणाम पर्खिएर सोच बनाउने पर्याप्त धैर्यता हुँदैन ।
यहीँ अर्जेन्टिनी मतदाताको मनस्थिति बुझ्न सकिन्छ । मुद्रास्फीति घटाउन बजेट कटौती गर्दा आमजनतामा पीडादायी असर पर्छ । त्यसैले ती मतदातामाझ अलोकप्रिय हुन्छन् र लामो समय सत्तामा टिक्न सक्दैनन् । तर, तिनले सुरु गरेका कटौतीका कारण बिस्तारै मुद्रास्फीति नियन्त्रण गर्न असर गरिरहेको हुन्छ । त्यसको प्रभाव देखिने वेलासम्म नयाँ बजेट कटौती गर्ने हटेर नयाँ पपुलिस्ट नेता सत्तामा आएको हुन्छ, अनि आमजनताले उही आएर मूल्य स्थिरता भएको ठान्छन् र उसलाई पुनः निर्वाचित गर्छन् । अब नयाँ नेताले जनतासँग गरेका वाचा पूरा गर्न पैसा छापेर वित्तपोषण गर्न थाल्छ । यसले पुनः बजेट घाटा विशाल भएर पुरानै महँगीको चक्र फेरि सुरु गर्छ ।
यसबाहेक विज्ञ भनेका कुलीन वर्गका लागि काम गर्छन् र कसले ती कुलीनका कुरा सुन्न चाहला ? आजकल ‘विज्ञताको अवसान’जस्ता शीर्षकका पुस्तक बजारमा आउने क्रम बढेको छ भने पिएचडीधारीप्रति पहिले कामय भएजस्तो सम्मान देखिँदैन । वास्तवमा, विशेषज्ञहरूले मतदातालाई सही नीति छान्न मद्दत गरेर कुन राजतीतिज्ञ ठिक छ भन्ने निर्धारण गर्न सघाउँछन् भन्ने विचार नै गलत छ । लाखौँ अर्जेन्टिनीहरूले परम्परागत वित्तीय र मौद्रिक नीति प्रत्युत्पादक रहेको निष्कर्ष निकालेर ‘पेरोनिस्ट’ उम्मेदवारलाई मतदान गर्ने होइन ।
खासमा अधिकांश अर्जेन्टिनीहरू पेरोनिस्ट छन् र पेरोनिज्मले कुनै पनि प्रकारको बजेट कटौती खराब हुन्छ भन्ने मान्ने भएकाले तिनले पनि त्यही विश्वास गर्नुपर्छ ठान्छन् । अथवा अर्को उदाहरणमा भन्दा, उत्तर अमेरिकी कलेजका अधिकांश विद्यार्थीले स्टिग्लिजलाई सुनेर उनका कुरा सही छन् भन्ने विश्लेषण गरेर प्रगतिशील हुने होइन कि उनीहरू पहिले प्रगतिशील हुन्छन्, त्यही भएर प्रगतिशील अर्थशास्त्री स्टिग्लिट्जका तर्कलाई त्यसै सही मान्छन् ।
मानिसको पहिचानले तिनको विश्वास र नीति प्राथमिकतालाई निर्धारण गर्छ भन्ने तर्क कुनै समय गलत मानिन्थ्यो, तर पछिल्ला अध्ययनले त्यही संकेत गर्छ । जलवायु परिवर्तनलाई खतरा मान्नेहरूले वैदेशिक सहायतालाई प्रभावकारी मान्नुपर्ने कुनै कारण छैन । तर, प्रगतिशीलहरूले सधैँ दुवैलाई सही मान्छन् । जबकि रुढिवादीहरू भनेर चिनाउने मानिसहरू विश्वव्यापी उष्णतालाई झुट मान्छन् र विदेशमा पैसा पठाउनुलाई धनको बर्बादी मान्छन् । राजनीतिक वैज्ञानिक क्रिस्टोफर एचेन र ल्यारी बार्टेल यही कुरालाई जोड दिँदै भन्छन्, ‘धेरै सचेत मतदाताले समेत आफू को हुँ अर्थात् तिनको सामाजिक पहिचानका आधारमा मत दिन्छन् । खासमा, मतदाताको सामाजिक पहिचानले तिनले कसरी सोच्छन्, के सोच्छन् वा पार्टी प्रणालीमा आफू कहाँ छु भन्ने कुरालाई आकार दिन्छ ।’
यस आधारमा, विश्वास कसरी परिवर्तन गर्ने होइन कि बरु पहिचान कसरी परिमार्जन गर्ने भन्ने प्रश्न महŒवपूर्ण हुने देखियो । यस सम्बन्धमा सामाजिक वैज्ञानिकले खासै धेरै सुझाव दिएका छैनन् । हामीलाई के थाहा छ भने पहिचानहरू हिमनदीको गतिमा(एकदमै सुस्तरी) परिवर्तन हुन्छन् । आफूलाई रुढिवादी राजनीतिसँग नजिक मान्ने व्यक्तिले वामपन्थीको तर्कहरूलाई सही मान्न सक्छ, तर उसले वामपन्थी उम्मेदवारलाई मत दिन निकै गाह्रो पर्छ ।
अर्जेन्टिनाका विज्ञहरू अहिले तिनका देशवासी मिलेईलाई जिताएर पाठ सिकेको मान्न सक्छन् । बजेट कटौती गर्ने र मुद्रास्फीति घटाउने वाचा गरेका मिलेईलाई १.४ करोड मतदाताले समर्थन जनाएका छन् । मतदाताले उनका तर्क सुनेर उनलाई मत दिएका हुन् भन्ने कुरामा मलाई शंका छ । मुख्यतः मिलेई बाह्य उम्मेद्वार भएकाले संस्थापनसँग विरक्तिएका मतदाताले उनलाई मत दिएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ । जब मिलेई आफैँ संस्थापनामा बदलिनेछन् र जब उनी आफ्ना नीति पास गराउन मलधारका दक्षिणपन्थीसँग मिलेर शासन गर्छन्, तब मतदाता फेरि उनैविरुद्ध जान सक्छन् । अनि फेरि सुरु हुनेछ, कहिल्यै पाठ नसिकी अघि बढ्ने अर्जेन्टिनाको अन्तहीन राजनीतिक चक्र ।
– प्राजेक्ट सिन्डिकेटबाट