एकीकृत समाजवादीको बैठक लम्बियो, अधिवेशन स्थगित

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

सत्तासाझेदार एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ। विधान संशोधनबारे धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ।

सोमबार र मंगलबार विधानबारे छलफल भएको थियो। बैठक पुनः शनिबार बस्ने गरी स्थगित भएको केन्द्रीय सचिव एवं कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

‘विधान संशोधन मस्यौदामाथि नेताहरूले एकसरो धारणा राख्नुभएको छ, छलफल अझै जारी छ,’ बैठकपछि श्रेष्ठले भने, ‘अब शनिबार पुनः छलफल हुनेछ। पाका र युवा पुस्तालाई मिलाएर लैजानुपर्ने आवाज बैठकमा उठेको छ। बैठकमा प्रतिनिधि र नेता छनोट विधिबारे पनि छलफल भएको छ।’

सबै महाधिवेशन प्रतिनिधि छनोट भएर आउनुपर्नेमा नेताहरूले जोड दिएकाे उनले बताए। केन्द्रीय निकायका प्रतिनिधिहरू पनि निर्वाचित भएर आउनुपर्ने गरी विधान संशोधन हुनुपर्ने नेताहरूको राय छ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट विधान संशोधन गर्ने एकीकृत समाजवादीको तयारी छ। विधान संशोधन हुने भएकाले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकअघि अधिवेशनहरू नगर्ने निर्णय सचिवालय बैठकले गरेको छ। 

तोकिएका जिल्ला र नगर अधिवेशनसमेत स्थगित गर्ने निर्णय बैठकले गरेको छ। परिषद् बैठकअघि अधिवेशनको मिति तोक्नसमेत बैठकले आग्रह गरेको छ।

सुझावित समाचार